मुगु।
लामो समयदेखि हवाई सेवाको अनियमितताले सास्ती खेप्दै आएका मुगुवासीका लागि अब सहज हुने भयको छ। रारा विमानस्थल (ताल्चा) मा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ।
नेपालगञ्जबाट हप्तामा चार पटक-आइतबार, मंगलबार, बिहीबार र शुक्रवार—उडान हुने व्यवस्था मिलाइएको छ। साथै, बिहीबारका दिन सुर्खेतबाट पनि ताल्चा विमानस्थलसम्म उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इन्चार्ज नवीनकुमार विष्टले जानकारी दिए।
नियमित उडान सुरु भएसँगै विशेषगरी बिरामी बोकेर बाहिर लैजानुपर्ने बाध्यता झेलिरहेका स्थानीयलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। आपत्कालीन स्वास्थ्य सेवाका लागि समयमै जहाज नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्थासमेत दोहोरिँदै आएको थियो। अब भने यस्तो समस्या केही हदसम्म कम हुने विश्वास स्थानीयले गरेका छन्।
त्यसैगरी, विश्वकै प्रसिद्ध गन्तव्यका रूपमा परिचित रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि यो सेवा महत्वपूर्ण मानिएको छ। सहज हवाई सेवाको पहुँचले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र स्थानीय अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।
दुर्गम भेगका नागरिकले वर्षौंदेखि भोग्दै आएको यातायातको अभाव, महँगो भाडा र अनिश्चित सेवाको पीडाको समाधान हुने छ ।











प्रतिक्रिया