ललितपुर।
पूर्वमन्त्री तथा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेशलाल प्रधानले उद्योगी व्यवसायीको नेतृत्वमा आउने व्यक्तिहरूले इतिहासले सकारात्मक रूपमा सम्झिने गरी काम गर्नुपर्ने बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य संघको ५९औं स्थापना दिवसको अवसरमा बालकुमारीमा आयोजित समारोहको उद्घाटन गर्दै उनले संघको विगतदेखि हालसम्मको यात्रालाई महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। पूर्वअध्यक्ष प्रधानले स्वर्गीय बेखनाथ श्रेष्ठले मंगलबजार र महापालको एउटा कोठा भाडामा लिएर स्थापना गरेको संघ आज आफ्नै भवन, हजारौं सदस्य र सुदृढ आर्थिक अवस्थासहित अघि बढ्नु ठूलो उपलब्धि भएको उल्लेख गरे।
प्रधानले वर्तमान नेतृत्वलाई जिम्मेवारीप्रति सचेत रहन आग्रह गर्दै भने ‘ संघ आज बलियो अवस्थामा पुगेको छ । यस्तो समयमा नेतृत्वमा आउनेहरूले इतिहासले सम्झिने गरी काम गर्नुपर्छ ।’
उनले पदमा रहँदा गरिएको कामको वास्तविक मूल्यांकन तत्काल नहुने बताउँदै पद छाडेपछि मात्र व्यक्तिको योगदानको सही मूल्यांकन हुने धारणा राखे ‘ नेतृत्वमा रहनेहरूले सधैं दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर काम गर्नुपर्छ ।’ उनले भने।
समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डीप्रसाद ढकालले ललितपुरको कला, संस्कृतिको प्रवद्र्धन गर्दै संघले व्यवसायीको हितमा उदाहरणीय काम गरेको बताए।
सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले उद्योग व्यवसायीहरुको हितमा ठोस काम गरेर संघको गर्विलो इतिहासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।अध्यक्ष बज्राचार्यले जिल्लालाई व्यवसायीमैत्री बनाउन सशक्त रुपमा नीतिको पैरवी, स्टार्टअपहरुको लागि लन्चप्याड सिर्जना गर्ने र लगानी अवसरका ढोकाहरु खुल्न लागिपरेको बताए।
सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष सुसन महर्जन र महासचिव भूमीनन्दन कर्माचार्य लगायतले संघले गर्दै आएको विभिन्न गतिविधिबारे बोलेका थिए ।











प्रतिक्रिया