वातावरण संरक्षणमा युवापुस्ताको अग्रणी भूमिका

940
Shares

पृथ्वीमा रहेका जीव, जनावर, वनस्पति, हावा, पानी, माटो, सांस्कृतिक तथा सामाजिक प्रणाली आदि सम्पूर्ण जैविक तथा अजैविक वस्तुहरुको सामूहिक स्वरुप, अस्तित्व र आपसी अन्तरसम्बन्ध नै वातावरण हो । प्रत्यक्ष वा परोक्षरुपले वातावरणमा बढ्दो शहरीकरण, बढ्दो औद्योगिकीकरण, प्राकृतिक स्रोतमाथिको तीव्र दोहन, अम्ल वर्षा, मरुभूमीकरण, बाढी, पहिरो, अनावृष्टि, ओजन तह विनाश आदिले क्षति नपु¥याई स्याहार, सम्भार, संवद्र्धन तथा सदुपयोग गर्नु वातावरण संरक्षण हो । यही वातावरणको संरक्षण र संवद्र्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सबैभन्दा महत्वपूर्ण र भरपर्दो समूहको नाम हो युवापुस्ता ।

वातावरण मानवजीवन व्यतीत गर्ने प्रमुख आधार इलाका हो । स्वच्छ हावा, सफा पानी, वनजंगल, उर्वर माटो र जैविक विविधताविना मानवसभ्यताको अस्तित्व कल्पना पनि गर्न सकिँदैन । पछिल्ला वर्षहरुमा हुँदै गएको तीव्र जनसंख्या वृद्धि, अव्यवस्थित शहरीकरण, औद्योगिकीकरण, वन विनाश र अत्यधिक उपभोगवादी जीवनशैलीका कारण विश्वव्यापीरूपमा वातावरण गम्भीर संकटमा पर्दै गएको छ ।

जलवायु परिवर्तनका असरहरू– अनियमित वर्षा, तापक्रम वृद्धि, बाढी–पहिरो, खडेरी, वन–डढेलो र जैविक विविधताको ह्रास आज सामान्य बन्दै गएका छन् । नेपालजस्तो भौगोलिक रूपमा संवेदनशील र विकासोन्मुख देशका लागि यी समस्याको प्रभाव झन् गहिरो रुपमा देखिँदै गएका छन् ।

यस्तो अवस्थामा वातावरण संरक्षण केवल सरकार, राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थाको जिम्मेवारी मात्र नभई पृथ्वीमा रहेका प्रत्येक मानवको साझा दायित्व हो । यस अभियानको अग्रपंक्तिमा रही वातावरण संरक्षणमा प्रमुख भूमिका खेल्न सक्ने महान् शक्ति भनेको सचेत, ऊर्जाशील र परिवर्तनप्रति प्रतिबद्ध युवा समूह हो ।

नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार कुल जनसंख्याको उल्लेखनीय हिस्सा अर्थात् १६ देखि ४० वर्षको युवाको जनसंख्या ४२.५ प्रतिशत रहेको छ । यति ठूलो हिस्सा भएको युवा समाजको सबैभन्दा सक्रिय र सिर्जनशील वर्ग हो । उनीहरूमा नयाँ सोच अपनाउने, प्रविधि प्रयोग गर्ने र सामाजिक परिवर्तनको नेतृत्व गर्ने क्षमता उच्च हुन्छ । इतिहासले पनि के सिद्ध गरेकोे छ भने सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनका अधिकांश आन्दोलन युवाबाटै शुरु भई सफलसमेत भएका छन् ।

त्यसैले वातावरण संरक्षणको क्षेत्रमा पनि युवाको भूमिका गौण होइन, निर्णायक हुन सक्छ । वातावरणीय संकट दीर्घकालीन भएकाले यसको समाधान पनि दीर्घकालीन सोच र निरन्तर प्रयासबाट मात्र सम्भव हुन्छ, जुन जिम्मेवारी युवाले बहन गर्न सक्छन् । आज नेपालले भोगिरहेका वातावरणीय समस्याहरू बहुआयामिक छन् ।

काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण, नदीनालामा फोहोर र ढलको मिसावट, प्लास्टिकजन्य फोहोरको अत्यधिक प्रयोग, वनक्षेत्रको अतिक्रमण, जैविक विविधताको क्षय र जलस्रोतको दुरुपयोग प्रमुख चुनौतीका रूपमा देखिएका छन् । ग्रामीण भेगमा समेत बाढी, पहिरो र खडेरीले जनजीवन प्रभावित बनाइरहेको छ । यी समस्याको समाधानका लागि नीतिगत सुधारसँगै नागरिक तहबाट व्यावहारिक परिवर्तन आवश्यक हुन्छ । यही ठाउँमा युवाको सक्रिय सहभागिताले तत्कालै सकारात्मक परिणाम दिन सक्छ ।

सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा युवाको योगदान झनै महत्वपूर्ण छ । आजका युवा प्रविधिमा दक्ष छन् र नयाँ सोचलाई व्यवहारमा उतार्न सक्षम छन् । नवीकरणीय ऊर्जा, हरित प्रविधि, फोहोर व्यवस्थापन, जल संरक्षण र वातावरणमैत्री उद्यममा युवाले नवीन समाधान दिन सक्छन् । सौर्य ऊर्जा, बायोग्यास, विद्युतीय सवारीसाधन, कागजरहित डिजिटल प्रणालीजस्ता उपायहरूको प्रवद्र्धनमा युवाको सक्रियता आवश्यक छ ।

वातावरण संरक्षणलाई रोजगारी, उद्यम र आर्थिक विकाससँग जोड्न सकेमा दिगो विकासको मार्ग फराकिलो बनाउन सकिन्छ । वातावरण संरक्षण दीर्घकालीन नीति र दृढ नेतृत्वविना सम्भव हुँदैन । त्यसैले युवाले केवल अभियानमा सीमित नभई नीति निर्माण प्रक्रियामा समेत चासो देखाउनुपर्छ । स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म वातावरणमैत्री नीति माग गर्ने, गलत निर्णयको विरोध गर्ने र दिगो विकासलाई प्राथमिकतामा राख्ने नेतृत्व विकासमा युवाको भूमिका अपरिहार्य हुनुपर्छ ।

वातावरण संरक्षण ठूला–ठूला योजना र भाषणबाट नभई दैनिक जीवनका साना–साना अभ्यासबाट शुरु गर्न सकिन्छ । युवाले आफ्नै जीवनशैलीमा वातावरणमैत्री व्यवहार अपनाएर ठूलो सन्देश दिन सक्छन् । प्लास्टिकका झोला र एकपटक प्रयोग हुने सामग्रीको प्रयोग क्रमशः कम गर्दै जानुु, पानी र बिजुलीको मितव्ययी उपयोग गर्नु, सार्वजनिक सवारीसाधनको प्रयोग, साइकल वा पैदल हिँडाइलाई प्राथमिकता दिनु, फोहोरलाई स्रोतमै वर्गीकरण गर्नु र जैविक फोहोरबाट कम्पोस्ट मल बनाउने अभ्यासले वातावरण संरक्षणमा प्रत्यक्ष योगदान पु¥याउन सक्छ । युवाबाट शुरु भएको यस्तो सकारात्मक अभ्यास समाजमा छिटो फैलिन्छ ।

यस्तै शिक्षा र सचेतनाको क्षेत्रमा पनि युवाको भूमिका अत्यन्त प्रभावकारी हुन्छ । विद्यालय, कलेज र समुदायमा वातावरणीय शिक्षा व्यावहारिक बनाउनुपर्छ । युवाले वृक्षरोपण, सरसफाइ अभियान, नदी तथा पोखरी संरक्षण, प्लास्टिकमुक्त अभियान र जलवायु परिवर्तनबारे छलफल कार्यक्रम सञ्चालन गरेर जनचेतना बढाउन सक्छन् । आजको डिजिटल युगमा सामाजिक सञ्जाल प्रभावशाली मात्र होइन, सबैभन्दा शक्तिशाली माध्यम बन्दै गएकोे छ । युवाले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्दै वातावरण संरक्षणसम्बन्धी सत्यतथ्य सन्देश र सकारात्मक अभ्यासहरू साझा गर्न सक्छन्, जसले व्यापक जनमत निर्माण गर्दै वातावरण संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गर्न सक्छ ।

नेपालको राजनीतिक नेतृत्व युवालाई हरेक क्षेत्रमा अवसर सिर्जना गरेर अगाडि बढाउनुभन्दा पनि पुरातनवादी सोचले ग्रस्त छ, जसको प्रत्यक्ष मारमा युवावर्ग परेको छ । आगामी दिनमा युवालाई अग्रपंतिmमा राखी हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाहमा प्रशस्त अवसर दिनुपर्छ, जसले गर्दा वातावरण संरक्षणमा मात्र होइन राजीनतिक, सामाजिक, आर्थिक, शैक्षिकलगायतका क्षेत्रलाई युवाले एकैपटक जुरुक्क उचालेर अगाडि बढाउन सक्छन् । परिमाणमुखी नतिजा दिन सक्छन् ।

साथै सचेत युवाकोे भूमिका प्रश्न सोध्ने, सुझाव दिने र जिम्मेवार नेतृत्व निर्माणमा महत्वपूर्ण हुन्छ । यद्यपि युवाको सक्रियतामा थुप्रै चुनौती पनि छन् । जस्तै– पर्याप्त सचेतनाको अभाव, स्रोत–साधनको कमी, अवसरबाट वञ्चित गराइनु र नीतिगत उपेक्षाले युवाको प्रयासलाई कमजोर बनाउने गरेको छ । यस्ता चुनौती समाधान गर्न तीनै तहका सरकार, शैक्षिक संस्था, निजी क्षेत्र र आमसञ्चारमाध्यमले युवालाई प्रोत्साहन, तालिम र अवसर प्रदान गर्नुपर्छ, जसले वातावरण संरक्षणमा प्रत्यक्ष प्रभाव पार्न सकोस् ।

वातावरण मानव समुदायका लागि मात्र नभई प्रकृतिमा रहेका सम्पूर्ण जीवजन्तुकोे लागि नभई नहुने प्रमुख बासस्थान हो । वातावरणको विनाश कार्यमा अन्य जीवजन्तुभन्दा पनि मानव समुदायकै प्रमुख हात रहँदै आएको छ । यसको संरक्षणमा पनि मानवले नै अग्रणी भूमिका निभाउनुपर्छ । यस्तो महत्वपूर्ण वातावरणको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा दायित्व हो । त्यसमा पनि युवावर्गको भूमिका झनै महत्वपूर्ण र अनिवार्य हुन्छ । वातावरण संरक्षण र संवद्र्धन गर्नका लागि प्रकृतिमा रहेका सम्पूर्ण जीवजन्तुलाई माया गर्नुपर्छ ।

उनीहरुको पनि बाँच्न पाउने अधिकारलाई सुरक्षित र सुनिश्चित गर्नुपर्छ । वनजंगलमा हुने अवैध चोरी, सिकारीलाई सरकारले नै कडा दण्डात्मक बनाउनुका साथै सो नियन्त्रणका लागि युवाले महत्वपूर्ण भूमिका निर्वाह गनुपर्छ ।

वातावरण मानव सभ्यताको आधारस्तम्भ मात्र होइन, पृथ्वीमा रहेका सम्पूर्ण जीवजन्तुको साझा जीवन–आधार पनि हो । चेतनशील, ऊर्जाशील र परिवर्तनप्रति प्रतिबद्ध युवापुस्ता वातावरण संरक्षण र संवद्र्धनको सबैभन्दा भरोसायोग्य शक्ति हो । युवाले दैनिक व्यवहारदेखि सामूहिक अभियान, प्रविधि र नवप्रवर्तनदेखि नीति निर्माणसम्म सक्रिय सहभागिता जनाउन सके वातावरणीय संकटलाई सहजै अवसरमा रूपान्तरण गर्न सकिन्छ ।

प्रकृतिप्रति प्रेम, अन्य जीवजन्तुको बाँच्ने अधिकारप्रतिको सम्मान र जैविक विविधता तथा दिगो विकासप्रतिको दृढ प्रतिबद्धताले नै सबैको भविष्य सुरक्षित हुन्छ । युवाले उठाएको सचेत कदमले भोलिको पुस्तालाई स्वच्छ हावा, सफा पानी र सन्तुलित प्रकृति हस्तान्तरण गर्न सकिन्छ । त्यसैले वातावरण संरक्षणलाई अभियानको रुपमा मात्र नहेरी, यसलाई हाम्रो जीवनशैली बनाउँदै नेतृत्वदायी भूमिकामा युवाको सक्रियता सुनिश्चित गरेर समुन्नत, सुरक्षित, दिगो र भरपर्दो नेपाल तयार गर्नमा सबैले हातेमालो गर्दैै अगाडि बढ्नुपर्छ ।