सुरक्षा, सहकार्य, शान्ति, तालिम र भू–राजनीतिक सन्दर्भमा चासो

2.63k
Shares

काठमाडौं ।

अमेरिकी सेनाका उच्च अधिकारी लेफ्टिनेन्ट जनरल जोएल जेबी भोवेल नेपालको तीनदिने भ्रमणका लागि आज आइतबार काठमाडौं आउनुहुने भएको छ । उहाँ अमेरिकी सेनाको यूएस आर्मी प्यासिफिकका उप–कमान्डिङ जनरल हुनुहुन्छ ।

यो भ्रमणलाई नेपाल–अमेरिका सुरक्षा सहकार्य, संयुक्त सैन्य तालिम तथा क्षेत्रीय सुरक्षा रणनीतिसँग जोडेर हेरिएको छ । विशेष गरी हिन्द–प्रशान्त क्षेत्रमा बढ्दो भू–राजनीतिक प्रतिस्पर्धाका बीच हुने यो भ्रमणले कूटनीतिक तथा सुरक्षा क्षेत्रका विश्लेषकहरूको ध्यान तानेको छ ।

स्रोतका अनुसार जनरल भोवेलले नेपाल बसाइँका क्रममा नेपाली सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तामा दुवै देशबीच सैनिक–सैनिक सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ ।

विशेषगरी संयुक्त सैन्य अभ्यास, तालिम आदानप्रदान, आधुनिक सैन्य रणनीति तथा क्षेत्रीय सुरक्षा चुनौतीजस्ता विषयमा विस्तृत छलफल हुने सम्भावना रहेको सुरक्षा स्रोतहरूले बताएको छ ।

भ्रमणका क्रममा जनरल भोवेल काभ्रेको पाँचखालमा रहेको वीरन्द्र शान्ति कार्य तालिम केन्द्र पुग्ने कार्यक्रम पनि रहेको छ । यो केन्द्र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि नेपाली तथा बहुराष्ट्रिय सैनिकलाई तालिम दिने प्रमुख संस्थाका रूपमा परिचित छ । यहाँ अन्तर्राष्ट्रिय शान्ति अभियानमा खटिने सैनिकलाई आवश्यक तयारी तथा प्रशिक्षण प्रदान गरिन्छ ।

नेपाल विश्वमै संयुक्त राष्ट्रसंघ शान्ति मिसनमा ठूलो संख्यामा सैनिक पठाउने मुलुकमध्ये एक भएकाले अमेरिकालगायतका अन्तर्राष्ट्रिय साझेदारहरूले यस क्षेत्रमा सहकार्य बढाउन चासो देखाउँदै आएका छन् ।
अमेरिकाले विशेषगरी शान्ति स्थापना तालिम, विपद् व्यवस्थापन तथा मानवीय सहायता कार्यमा नेपाली सेनासँग सहकार्य गर्दै आएको छ ।

काठमाडौं बसाइका क्रममा जनरल भोवेलले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च सैनिक नेतृत्वसँग भेटवार्ता गर्ने सम्भावना रहेको छ । भेटमा रक्षा सहकार्य, सैन्य तालिम, विपद् व्यवस्थापन तथा क्षेत्रीय सुरक्षा चुनौतीजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा पर्ने मुलुक भएकाले विपद् व्यवस्थापन र मानवीय सहयोगको क्षेत्रमा पनि नेपाल–अमेरिका सैन्य सहकार्य महत्वपूर्ण मानिन्छ । जनरल भोवेल अमेरिकी हिन्द–प्रशान्त सुरक्षा रणनीतिअन्तर्गत काम गर्ने वरिष्ठ सैनिक अधिकारी हुनुहुन्छ । त्यसैले उहाँको नेपाल भ्रमणलाई हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य विस्तार गर्ने कूटनीतिक प्रयासका रूपमा पनि विश्लेषण गरिएको छ ।

अमेरिकाले पछिल्ला वर्षहरूमा दक्षिण तथा दक्षिण–पूर्व एसियामा सुरक्षा साझेदारी विस्तार गर्ने रणनीति अघि बढाउँदै आएको छ । नेपालसँगको सैन्य तथा सुरक्षा सहकार्यलाई पनि त्यही रणनीतिक सन्दर्भमा हेरिएको विश्लेषकहरू बताउँछन् ।

नेपालले भने परराष्ट्र नीतिमा असंलग्नता र सन्तुलित कूटनीतिक सम्बन्धलाई प्राथमिकता दिँदै आएको छ । त्यसैले नेपालले सुरक्षा सहकार्यलाई मुख्यतः तालिम, शान्ति स्थापना तथा विपद् व्यवस्थापनजस्ता गैर–सैन्य क्षेत्रसँग जोडेर अघि बढाउने प्रयास गर्दै आएको देखिन्छ ।

यहाँबाट काट्ने
यसअघि पनि अमेरिकी इन्डो–प्यासिफिक कमान्डका उच्च अधिकारीहरू नेपाल भ्रमणमा आएका थिए । उनीहरूले विपद् व्यवस्थापन, मानवीय सहयोग तथा शान्ति स्थापना क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल गरेका थिए । त्यसमध्ये अमेरिकी इन्डो–प्यासिफिक कमान्डका जनरल स्यामुअल पापारो पनि केही समयअघि नेपाल भ्रमणमा आउनुभएको थियो ।

उहाँको भ्रमण औपचारिक रूपमा भएको भए पनि भ्रमणको वास्तविक उद्देश्यबारे अहिलेसम्म स्पष्ट विवरण सार्वजनिक गरिएको छैन । पापारो नेपालको निर्वाचन अघि पनि नेपाल आउनुभएको थियो, जसले गर्दा राजनीतिक र कूटनीतिक वृत्तमा उहाँको भ्रमणबारे विभिन्न अनुमानहरू गरिएको थियो । नेपाल सरकारले पनि उक्त भ्रमणको उद्देश्यबारे औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक नगरेको हुँदा त्यसले थप जिज्ञासा उत्पन्न गरेको थियो ।

नेपाल आउनुअघि जनरल भोवेलले भारत भ्रमण गरी भारतीय सेनाका प्रमुखसँग भेट गर्नुभएको थियो । सो भेटमा क्षेत्रीय सुरक्षा अवस्था तथा संयुक्त सैन्य अभ्यासबारे छलफल भएको बताइएको छ । भारत र नेपाल दुवै दक्षिण एसियाका रणनीतिक रूपमा महत्वपूर्ण मुलुक भएकाले अमेरिकी सुरक्षा कूटनीतिमा यी मुलुकहरूको भूमिका महत्वपूर्ण मानिन्छ ।

विश्लेषकहरूका अनुसार दक्षिण एसियामा चीन, भारत र अमेरिकाबीच बढ्दो रणनीतिक प्रतिस्पर्धाका कारण नेपालजस्ता मुलुकहरूमा हुने उच्चस्तरीय सैनिक भ्रमणहरूलाई भू–राजनीतिक दृष्टिले पनि महत्वका साथ हेरिन्छ । नेपाल चीन र भारतबीच अवस्थित भौगोलिक रूपमा संवेदनशील मुलुक भएकाले बाह्य शक्तिहरूको चासो स्वाभाविक रूपमा रहने गरेको छ ।

यद्यपि, नेपालले परराष्ट्र नीतिमा ‘सन्तुलित सम्बन्ध’ र ‘कसैको पक्ष नलिने’ सिद्धान्तलाई प्राथमिकता दिँदै आएको छ । त्यसैले यस्ता भ्रमणहरूलाई प्रायः सैनिक तालिम, विपद् व्यवस्थापन तथा शान्ति स्थापना सहकार्यको दायराभित्रै राखेर अघि बढाइने गरेको छ । जनरल भोवेलको नेपाल भ्रमणलाई पनि त्यही सन्दर्भमा नेपाल–अमेरिका सैन्य सहकार्यलाई थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ ।

तर, हिन्द–प्रशान्त रणनीति, दक्षिण एसियाको सुरक्षा वातावरण तथा क्षेत्रीय शक्ति प्रतिस्पर्धाको सन्दर्भमा यसले कस्तो दीर्घकालीन प्रभाव पार्छ भन्ने विषय भने कूटनीतिक तथा सुरक्षा विश्लेषकहरूको चासोको विषय बनेको छ ।