ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ ।

ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ ।

यसैगरी, बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको आव २०८१÷८२ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण र आर्थिक वर्ष २०८२र८३ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ ।

सभामा अध्यक्ष हरि चन्द्र खड्काले वार्षिक प्रतिवेदनको संक्षेप प्रस्तुत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल ढकालले बैंकले समीक्षाधीन अवधिमा हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सेयरधनीहरूले राखेका जिज्ञासा र सुझावहरूको उत्तर अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुवैले दिएका थिए । बैंकले आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको दाबी गरेको छ ।

विशेषगरी स्वास्थ्य क्षेत्रमा केन्द्रित रहँदै बैंकले ७० वटा न्यानो नानी मेसिनमार्फत हरेक वर्ष २ हजार ५९० भन्दा बढी नेपाली शिशुहरूको जीवन रक्षा गर्न सफल भएको जानकारी गराइएको छ ।

राष्ट्रप्रतिको उत्तरदायित्व बहन गर्दै बैंकले गत आर्थिक वर्षमा मात्रै राज्यलाई ४१ करोड रुपैयाँ कर योगदान गरेको छ। हाल ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले देशभर रहेका ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएम मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सभामा बैंकका सेयरधनीहरू, सञ्चालक समितिका सदस्यहरू, पूर्व सञ्चालकहरू, विभिन्न पदाधिकारीहरू र कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।