विजयी र निकटतम प्रतिद्वन्द्वी उम्मेदवारबीच आत्मीयता !

2.26k
Shares

दोलखा।

दोलखाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल विजयी भएपछि निकटतम प्रतिद्वन्द्वी एमालेका पार्वत गुरुङले आत्मीयता दर्साउँदै खरेललाई आफ्नो सम्पर्क कार्यालयमा आमन्त्रण गरेर खादासहित शुभकामना दिएका छन् ।

उनले सौहाद्रता आफ्नो संस्कार रहेको भन्दै जिल्लाको हितको लागि काम गर्दा सधैँ आफ्नो सहयोग र साथ रहने प्रतिबद्धता समेत जनाए । जवाफमा विजयी उम्मेदवार खरेलले आफूले गुरुङबाट धेरैकुरा सिक्नुपर्ने बताए ।

आईतवार विहान सार्वजनिक भएको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता खरेल ३२,३७६ मत सहित विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी गुरुङले १७,४४९ मत प्राप्त गरेका छन् । निर्वाचनमा तेस्रो भएको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विशाल खड्काले १३,०६५ मत प्राप्त गरेका छन् भने चौथो भएका नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले १२,२९८ मत प्राप्त गरेका छन् ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखा जिल्लामा १,७०,३२१ मतदाता रहेको छन् । जसमा पुरुष ४५,४५७ जना र महिला ३९,०२४ जना गरी ८४,४८१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।

११३ मतदाताको बहिष्कार

गौरीशङकर गाउँपालिका वडा नम्बर– ९ को बेदिङ मतदान केन्द्रका ११३ मतदाताले भने मतदान नगरेको स्थानीय दावा छिरिङ शेर्पाले बताए । रोल्वालिङ क्षेत्रमा कोही बिरामी पर्दा अनुमति नलिईकनै हेलिकप्टर ल्याउन पाउनुपर्ने माग सम्बोधन नभएकोले मतदान बहिष्कार गरेको उनको भनाई छ ।

बुथ कब्जाको रेकर्ड तोडियो

प्रत्येक विर्चानमा बुथ कब्जाको त्रास बेहोर्दै आएको दोलखाका मतदाताहरुले यो पटक शान्तिपूर्ण ढङ्गले मतदान गर्न पाएको प्रतिक्रिया दिएका छन् । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर– ४ को गोल्मेश्वर मावि मालु मतदान केन्द्रमा भने विवादका कारण केही घण्टा मतदान प्रकृया अवरुद्ध भएको थियो । सो मतदान केन्द्रमा अन्तिम समयमा शान्तिपूर्ण ढङ्गले मतदान सम्पन्न भएको थियो ।

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन सुरक्षाको लागि खटिएको टोलीले जिल्लाको सहर तथा ग्रामिण क्षेत्रहरुमा पट्रोलिङ, चेकिङ, माईकिङ, मतदाताहरु संग छलफल लगायतका गतिविधि गरेको र निर्वाचनको दिन कडा सुरक्षा व्यवस्था गरेकोले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन सकेको गरुण दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए ।

एक मत कम आएपछि राजीनामा

बिहीबार सम्पन्न निर्वाचनमा दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ मा आफ्नो पार्टीको उम्मेदवार अजयबाबु शिवाकोटीले भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले १ मत बढी ल्याएपछि नेपाली कांग्रेसका तामाकोशी गाउँपालिका सचिव राजेन्द्र योञ्जनले पदबाट राजीनामा दिएका छन् । 

निर्वाचनमा योञ्जनको गाउँ तामाकोशी गाउँपालिका वडा नम्बर २ बाट खरेलले ३४७ मत ल्याएका थिए भने शिवाकोटीले ३४६ मत ल्याएका थिए ।