मुगु, । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुगु जिल्लामा भोलिबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट मतपेटिका सदरमुकाम गमगढी ल्याउने क्रम जारी रहेको छ।
जिल्लाका कुल ७० वटा मतदान स्थलमध्ये हालसम्म ४२ वटा मतदान स्थलका मतपेटिका सदरमुकाम गमगढी पुगेका छन्। बाँकी मतपेटिकामध्ये खत्याड गाउँपालिकाका १९ वटा, सोरु गाउँपालिकाबाट १ वटा र मुगुमकार्मारोङ गाउँपालिकाका ८ वटा मतदान स्थलका मतपेटिका अझै सदरमुकाम पुग्न बाँकी रहेका छन्।
सम्भवत् डोल्फु मतदान केन्द्रको मतपेटिका बाहेक अन्य २७ वटा मतपेटिका आज साँझसम्म सदरमुकाम गमगढी पुग्ने सम्भावना रहेको बताइएको छ। डोल्फु मतदान केन्द्र अत्यन्त दुर्गम क्षेत्रमा पर्ने भएकाले त्यहाँको मतपेटिका भने पैदल मार्ग हुँदै भोलि मात्रै सदरमुकाम आइपुग्ने अपेक्षा गरिएको छ।
प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार सबै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि सर्वदलीय बैठक बसेर मात्र मतगणना कार्य औपचारिक रूपमा सुरु गरिनेछ। मतगणनाका लागि आवश्यक स्थल र व्यवस्थापनको काम भने पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसैबीच मुगु जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा कुल ६१।३८ प्रतिशत मत खसेको छ। खसेको मतमध्ये प्रत्यक्षतर्फ महिला मतदाता ११ हजार ५८४ र पुरुष मतदाता १० हजार ५३१ रहेका छन्। त्यसैगरी समानुपातिकतर्फ २२ हजार ३७७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
दुर्गम भौगोलिक अवस्थाका कारण मतपेटिका संकलनमा केही ढिलाइ भए पनि सुरक्षा व्यवस्था कडा पारिएको र सबै मतपेटिका सुरक्षित रूपमा सदरमुकाम ल्याउने काम जारी रहेको प्रशासनले जनाएको छ। सबै मतपेटिका पुगेपछि भोलिबाट मुगुमा औपचारिक रूपमा मतगणना सुरु हुने तयारी गरिएको छ।











प्रतिक्रिया