काठमाडौँमा श्रृंखलाबद्ध आगजनी : नैकापमा सिप्रदी नजिक टोयोटा कार जलेको अवस्थामा भेटियो, महाराजगन्जमा मारुती भ्यानमा पनि अज्ञात समूहको आगो


काठमाडौँ।

राजधानी काठमाडौँका दुई फरक स्थानमा सोमबार राति शंकास्पद आगजनीका घटना सार्वजनिक भएका छन्। काठमाडौँको नैकाप र महाराजगन्ज क्षेत्रमा पार्किङ गरिएका दुई सवारीसाधन जलेको अवस्थामा भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार नैकापस्थित Sipradi Trading को कार्यालय नजिकै पार्किङ गरिएको बा २८ च २८३६ नम्बरको टोयोटा कार आगजनी गरिएको अवस्थामा फेला परेको हो। घटनास्थलमा पुगेको प्रहरी टोलीले कारको अगाडिको भाग पूर्णरूपमा जलेको र पछाडिको भागमा आंशिक क्षति पुगेको जनाएको छ।

त्यस्तै, काठमाडौँकै महाराजगन्ज क्षेत्रमा बा ७ च १४०१ नम्बरको मारुती भ्यान पनि जलेको अवस्थामा भेटिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा दुवै सवारीसाधनमा जानाजानी आगो लगाइएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रातिको समयमा घटना भएको अनुमान गरिए पनि कसले र किन आगजनी गर्‍यो भन्नेबारे स्पष्ट खुल्न सकेको छैन। आसपासका सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाइएको एसपी भट्टराईले जानकारी दिए। “दुवै घटनामा संलग्न व्यक्तिको पहिचान र कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ,” उनले भने।

स्थानीय बासिन्दाले राति अचानक धुवाँ र आगो देखेपछि प्रहरीलाई खबर गरेका थिए। दमकल र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिए पनि सवारीसाधनमा ठूलो क्षति पुगेको छ। मानविय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ।

पछिल्लो समय राजधानीमा यस्ता छिटफुट आगजनीका घटनाले सुरक्षा चुनौती बढेको संकेत गरेको सुरक्षा अधिकारीहरू बताउँछन्। घटनाको प्रकृति, समय र स्थान फरक–फरक भए पनि योजनाबद्ध गतिविधि हो कि होइन भन्ने कोणबाट समेत अनुसन्धान भइरहेको छ।

प्रहरीले आगजनीमा संलग्नको खोजी तीव्र बनाएको जनाउँदै सर्वसाधारणलाई शंकास्पद गतिविधि देखिएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।