अन्तिम ६ दिन ‘निर्णायक’ !
काठमाडौं ।
२१ फागुनको प्रतिनिधिसभा निर्वाचन आउन अब ६ दिनमात्रै बाँकी रहँदा देशभर चुनावी माहोल उत्कर्षमा पुगेको छ । उम्मेदवारहरूको दौडधुप चरममा पुगेको छ । घरदैलो, कोणसभा, टोलभेला, युवासँग अन्तरक्रिया, आमा समूह र व्यवसायी संघ–संस्थासँग भेटघाट—सबैतिर चुनावी चहलपहल छ । मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरूले अन्तिम समयसम्म रणनीति बदल्ने र प्रभाव विस्तार गर्ने प्रयास गरिरहेका छन् ।
सिंगो मुलुक यतिबेला चुनावी महोत्सवमा होमिएको छ—सहरदेखि गाउँसम्म झण्डा, पर्चा, नारासहित उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका छन् । झण्डै ३४ सय उम्मेदवार यतिबेला आफ्ना एजेन्डा बोकेर जनताको ढोका ढकढक्याइरहेका छन् ।
राजनीतिक दलहरू राष्ट्रिय घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने जिल्ला जिल्लामा उम्मेदवारहरूले आफ्नो क्षेत्रको आवश्यकताअनुसार विकास, सुशासन, पारदर्शिता, रोजगारी, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा–स्वास्थ्य र सांस्कृतिक संरक्षणका प्रतिवद्धता सार्वजनिक गरेका छन् । चुनावी भाषणमा ‘समृद्धि’, ‘परिवर्तन’, ‘स्थायित्व’ र ‘सुशासन’ जस्ता शब्द सर्वाधिक दोहोरिएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार अबका ६ दिन उम्मेदवारका लागि निर्णायक हुनेछन् । सामाजिक सञ्जालदेखि प्रत्यक्ष भेटघाटसम्म मतदाताको मन जित्ने प्रतिस्पर्धा तीव्र बनेको छ । केही स्थानमा प्रतिस्पर्धा अत्यन्तै कडा देखिएको छ भने कतिपय क्षेत्रमा ‘हावा’ को चर्चा पनि सुरु भएको छ ।
आयोगको कडा निर्देशन, मौन अवधि नजिकिँदै
निर्वाचन प्रचारप्रसारका लागि निर्वाचन आयोगले फागुन १८ गतेसम्मको समय तोकेको छ । त्यसपछि ४८ घण्टे मौन अवधि लागू हुनेछ । मौन अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचार, सभा, जुलुस वा मत माग्ने गतिविधि गर्न नपाइने आयोगले स्पष्ट गरिसकेको छ ।
आयोगले आचारसंहिता उल्लंघन नगर्न सबै दल र उम्मेदवारलाई आग्रह गरेको छ । सामाजिक सञ्जालमा भ्रामक सूचना, चरित्रहत्या र घृणात्मक अभिव्यक्तिप्रति पनि निगरानी कडा पारिएको जनाइएको छ ।
जनताको अपेक्षा ः नाराभन्दा परिणाम
चुनावी रौनक बढेसँगै जनताको अपेक्षा पनि चुलिएको छ । विगतका निर्वाचनमा गरिएका बाचा र कार्यान्वयनबीचको दूरीले मतदातालाई सचेत बनाएको छ । धेरै मतदाताले अब ‘नाराभन्दा नतिजा’ चाहिएको प्रतिक्रिया दिएका छन् ।
यसपटकको निर्वाचनलाई राजनीतिक स्थायित्व, सुशासन र आर्थिक पुनरुत्थानको मोडको रूपमा हेरिएको छ । त्यसैले मतदाताको निर्णयले आगामी राजनीतिक दिशा तय गर्नेछ ।
देशभर चुनावी उत्सवको माहोल देखिए पनि अन्ततः
निर्णायक शक्ति मतदाताकै हातमा छ । अबका केही दिन उम्मेदवारका लागि परीक्षा हुन् भने मतदाताका लागि भविष्य रोज्ने घडी । २१ फागुनले केवल प्रतिनिधि चयनमात्र होइन, देशको आगामी बाटो तय गर्ने सन्देश पनि दिनेछ ।











प्रतिक्रिया