काठमाडौं ।
पर्वतीय उद्धार सेवासँग सम्बन्धित केही निजी कम्पनीविरुद्ध गम्भीर आरोप सार्वजनिक भएको छ। “रेस्क्यु” शीर्षकमा विभिन्न विदेशी पर्यटकसँग अस्वाभाविक शुल्क असुली, कागजातमा शंकास्पद विवरण र अन्तर्राष्ट्रिय मञ्चमा नेपालविरुद्ध नकारात्मक प्रचार गरिएको भन्दै उजुरी परेको हो।
उजुरीपत्रअनुसार Mountain Rescue Service Pvt. Ltd., Everest Experience and Assistance Pvt. Ltd. र Nepal Charter Service Pvt. Ltd. लगायतका कम्पनीको नाम उल्लेख गरिएको छ। ती कम्पनीले उद्धार उडानका क्रममा Passenger and Cargo Manifest, Invoice, Insurance Policy, Admission & Discharge Report तथा Medical Report जस्ता कागजातमा अस्वाभाविक विवरण पेश गरेको आरोप लगाइएको छ।
उजुरीमा भनिएको छ कि केही प्रकरणमा वास्तविक स्वास्थ्य अवस्था गम्भीर नभए पनि उद्धार आवश्यक देखाइ बिलिङ गरिएको, अस्पताल भर्ना तथा डिस्चार्ज रिपोर्टमा फरक–फरक विवरण देखिएको तथा बीमा दाबी प्रक्रियामा शंका उत्पन्न हुने खालका कागजात तयार पारिएको दाबी गरिएको छ। यस्तै, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा “Make Nepal a no go destination for tourists”, “A scam on the roof of the world” तथा “Stop providing cover to tourists travelling to Nepal” जस्ता सन्देश प्रवाह भएकोप्रति समेत आपत्ति जनाइएको छ।
उजुरीकर्ताले यस्ता अभिव्यक्तिले नेपालको पर्यटन छवि धूमिल बनाउने र विश्वसामु नकारात्मक सन्देश जाने बताएका छन्। उक्त विषयमा सम्बन्धित निकायमा छानबिनको माग गरिएको छ। पर्यटन, नागरिक उड्डयन तथा गृह प्रशासनसँग जोडिएको विषय भएकाले बहुआयामिक अनुसन्धान आवश्यक देखिएको स्रोतले जनाएको छ।
यसैबीच, उद्धार सेवासम्बद्ध कम्पनीहरूले भने आफूहरूले प्रचलित कानुन र मापदण्डअनुसार सेवा प्रदान गर्दै आएको दाबी गरेका छन्। केही घटनालाई लिएर सम्पूर्ण क्षेत्रलाई बदनाम गराउने प्रयास भएको उनीहरूको भनाइ छ। नेपालमा पर्वतीय पर्यटन उच्च जोखिमयुक्त मानिन्छ। हिमाली क्षेत्रमा आकस्मिक स्वास्थ्य समस्या, मौसम परिवर्तन र उचाइजन्य रोगका कारण हेलिकप्टर रेस्क्यु सामान्य प्रक्रिया मानिन्छ।
तर पछिल्ला वर्षहरूमा “फेक रेस्क्यु” र बीमा दाबी दुरुपयोगको आरोप समय–समयमा उठ्दै आएको छ। सरकारले यसअघि पनि उद्धार प्रक्रियालाई पारदर्शी बनाउन मापदण्ड कडाइ गर्ने संकेत दिएको थियो। हालको उजुरीपछि पुनः एकपटक उद्धार प्रणाली, बीमा दाबी प्रक्रिया र निजी कम्पनीको भूमिकाबारे गम्भीर बहस सुरु भएको छ। पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक भएकाले यस्ता आरोपको निष्पक्ष छानबिन र तथ्यपरक निष्कर्ष सार्वजनिक गर्नु आवश्यक रहेको विज्ञहरूको भनाइ छ।











प्रतिक्रिया