उम्मेदवारले ल्याए ‘ग्रेटर हेटौंडा चक्रपथ’


हेटौंडा ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र–१ का उम्मेदवार विजय गौतमले ‘ग्रेटर हेटौंडा चक्रपथ’ निर्माणलाई उच्च प्राथमिकतामा राखी आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत गौतमले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

उनले विकास र सुशासनलाई केन्द्रमा राख्दै भ्रष्टाचार, कमिसन र तस्करीजस्ता बेथिति अन्त्य गर्दै स्थिर, पारदर्शी र जवाफदेही सरकार निर्माणका लागि मतदातासमक्ष अपिल गरे । प्रतिबद्धतापत्रमा हेटौंडा उपमहानगरपालिकालाई महानगरमा स्तरोन्नति गर्ने पहल, कर्रा, राप्ती तथा बागमती नदी करिडोर निर्माण, ग्रामीण सडक स्तरोन्नति तथा वर्षैभरि सञ्चालनयोग्य सडक विस्तार गर्ने योजना उल्लेख गरिएको छ । राजमार्ग ऐनअन्तर्गत हेटौंडा नगर विस्तारका क्रममा प्रभावित नागरिकलाई उचित मुआब्जा र क्षतिपूर्तिको व्यवस्था गरिने जनाइएको छ ।

प्रत्येक घरमा स्वच्छ खानेपानी, ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच, सबै वडामा इन्टरनेट सेवा विस्तार र एकीकृत नमुना बस्ती विकास कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । सुशासनतर्फ भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही प्रशासन सुनिश्चित गर्न खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । डिजिटल सेवा विस्तार, ईसेवा प्रणाली सुदृढीकरण तथा जनप्रतिनिधि–जनता प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।

कृषिक्षेत्रमा गढी, बकैया, बागमती र हेटौंडाका विभिन्न भुभागमा व्यावसायिक कृषि जोन विकास, सिचाईं सुबिधा विस्तार र पशुपालन प्रवद्र्धनमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । उद्योगतर्फ हेटौंडा औद्योगिक क्षेत्र विस्तार, मयुरधाप औद्योगिक क्षेत्र सञ्चालन, साना तथा घरेलु उद्योग प्रवद्र्धन र युवालाई सहुलियत ऋणमार्फत उद्यमशीलता विकास गर्ने योजना अघि सारिएको छ । पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक मकवानपुरगढी दरबार संरक्षण, प्राकृतिक तथा साँस्कृतिक सम्पदाको विकास, होमस्टे प्रवद्र्धन र आन्तरिक पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ । शिक्षाक्षेत्रमा गुणस्तरीय सामुदायिक विद्यालय, प्राविधिक तथा सिपमूलक शिक्षाकेन्द्र स्थापना र विपन्न वर्गका लागि छात्रवृत्ति व्यवस्था गर्ने उल्लेख छ ।

स्वास्थ्यतर्फ गाउँपालिकास्तरमा सुबिधासम्पन्न स्वास्थ्य केन्द्र, आमा–बाल तथा ज्येष्ठ नागरिकलक्षित कार्यक्रम तथा हेटौंडा अस्पतालमा विशेषज्ञ सेवा विस्तारलाई प्राथमिकता दिइने जनाइएको छ । युवा, महिला, दलित, जनजाति, अपांगता भएका व्यक्ति तथा अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा कोष वृद्धि, ‘एक वडा–एक महिला उद्यम’ कार्यक्रम र शिशु स्याहार केन्द्र स्थापना गर्ने योजना पनि प्रतिबद्धतापत्रमा समेटिएको छ ।

बागमती, बकैया तथा मकवानपुरगढी क्षेत्रमा बाढीपहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना, चुरे संरक्षण, हरित ऊर्जा प्रवद्र्धन र ‘एक सामुदायिक वन–एक उद्यम’ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । वन, नदी तथा प्राकृतिक स्रोत संरक्षणसँगै लालपुर्जा वितरणसम्बन्धी समस्या समाधानलाई पनि उच्च प्राथमिकतामा राखिएको छ ।