काठमाडौं ।
चालु आर्थिक वर्षको सात महिनामा नेपालले ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो रकम गत आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिको तुलनामा १३.६५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा ९ खर्ब ८८ अर्ब ५९ करोड रुपैयाँ बराबरको आयात भएको थियो । समीक्षा अवधिमा निर्यात पनि उल्लेख्य रूपमा बढेको छ । सात महिनामा १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत वर्षको १ खर्ब २७ अर्ब २० करोडको तुलनामा ३२.१९ प्रतिशतले बढी हो ।
आयात र निर्यात दुवैमा वृद्धि हुँदा कुल वैदेशिक व्यापार १५.७६ प्रतिशतले बढेर १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । तर, आयातको हिस्सा अत्यधिक रहँदा व्यापार घाटा भने चर्किएको छ । माघ मसान्तसम्म व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ८ खर्ब ६१ अर्ब ३८ करोडको तुलनामा १०.९१ प्रतिशतले बढी हो ।
हाल आयात–निर्यात अनुपात ६.६८ गुणा कायम भएको छ । अर्थात् नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६.६८ रुपैयाँ बराबरको वस्तु आयात गरिरहेको छ । गत वर्ष सोही अवधिमा यो अनुपात ७.७७ गुणा थियो । निर्यात वृद्धिसँगै कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ११.४० प्रतिशतबाट बढेर १३.०२ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८८.६० प्रतिशतबाट घटेर ८६.९८ प्रतिशतमा झरेको छ ।
माघ महिनामा मात्रै १ खर्ब ८४ अर्ब ४६ करोड रुपैयाँ बराबरको आयात भएको छ, जुन सात महिनाको औसत मासिक आयात (करिब १ खर्ब ६० अर्ब ५० करोड रुपैयाँ) भन्दा करिब २४ अर्ब रुपैयाँ बढी हो । पुस महिनामा १ खर्ब ७२ अर्ब ८३ करोडको आयात भएको थियो ।
उक्त अवधिमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । सात महिनामा १ खर्ब ८० अर्ब ७४ करोडँ बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ, जसबाट सरकारले ७१ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । पेट्रोलियम आयातको रकम कुल वस्तु निर्यातभन्दा नै बढी छ । दोस्रो स्थानमा जनावर वा वनस्पतिजन्य बोसो तथा तेल (९३ अर्ब ७५ करोड रुपैयाँ) रहेको छ। यसै क्षेत्रबाट ७८ अर्ब १९ करोड बराबरको निर्यात भएको छ, जुन कुल निर्यातको ठूलो हिस्सा हो।
यसैगरी फलाम र स्टील (७७ अर्ब ८५ करोड), विद्युतीय उपकरण (७७ अर्ब ६९ करोड), मेसिनरी तथा मेकानिकल उपकरण (७७ अर्ब ५३ करोड) र सवारी साधन तथा पार्टपुर्जा (६४ अर्ब ८४ करोड रुपैयाँ) शीर्ष आयातित वस्तुमा परेका छन् । निर्याततर्फ भने अझै केही वस्तुमा निर्भरता देखिएको छ । कुल १ खर्ब ६८ अर्ब रुपैयाँको निर्यातमध्ये वनस्पतिजन्य तेलबाट करिब ७८ अर्ब, कफी, चिया र मसला १२ अर्ब २६ करोड, गलैंचा ६ अर्ब ६४ करोड, तयारी पोशाक ५ अर्ब १४ करोड, काठ तथा काठका सामग्री ४ अर्ब ९० करोड, खाद्य उद्योगका अवशेष तथा पशु आहार ४ अर्ब ८० करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
नेपालको प्रमुख व्यापारिक साझेदार भारत नै रहेको छ। सात महिनामा भारतबाट ६ खर्ब २९ अर्बको आयात भएको छ भने भारततर्फ १ खर्ब ३७ अर्बको निर्यात भएको छ । चीनबाट २ खर्ब ३५ अर्बको आयात भएको भए पनि निर्यात भने ९० करोडमा सीमित रहेको छ । तथ्यांकले निर्यातमा सुधार देखिए पनि नेपालको व्यापार संरचना अझै आयातमुखी रहेको संकेत गर्छ। पेट्रोलियम पदार्थ, सवारी साधन, मेसिनरी, विद्युतीय उपकरण तथा कच्चा पदार्थको उच्च आयातले व्यापार घाटा चर्काइरहेको छ। निर्यात वृद्धिको दर सकारात्मक भए पनि व्यापार घाटा घटाउन उत्पादनमूलक क्षेत्र विस्तार र निर्यात विविधीकरण अपरिहार्य देखिन्छ ।











प्रतिक्रिया