जनकपुरधाम ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सबैले सम्मानित भएर बाँच्न पाउने गरी देश बदल्ने प्रतिज्ञा गर्नुभएको छ । जनकपुरधाममा बुधबार आयोजित कांग्रेसको सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो प्रतिज्ञा गर्नुभएको हो ।
सभापति थापाले अब प्रश्न गर्दा राज्यको गोलीले नमारिने नेपाल बनाउने, युवाका आवाज सुन्ने नेपाल बनाउने, प्रश्न गर्दा कुनै युवकले भाद्र २३ गते जस्तो गोलीले मारिनु नपर्ने र कसैले सिंहदरबार जलाउनुपर्ने अवस्था नआओस् भन्ने देश बनाउनेछौं भन्नुभयो । उहाँले प्रतिज्ञापत्रमा भनिएका कुरा पूरा गरेर छाड्ने बताउनुभयो । ‘राजा जनकको भूमिका घोषणा गर्न, बाचा गर्न आएको होइन, प्रतिज्ञा गर्न आएको हुँ,’ थापाले भन्नुभयो– ‘राजा जनकले जस्तै कांग्रेसले आफ्नो प्रतिज्ञाबाट एक इन्च पर सर्ने छैन ।’
अब देशको प्रधानमन्त्री कुनै पनि भ्रष्टाचारका काण्डमा नमुछिने बनाउने उहाँले प्रतिज्ञा गर्नुभयो । ‘अब देशको प्रधानमन्त्री कुनै पनि काण्डमा नमुछिने प्रतिज्ञा गर्छौं,’ थापाले भन्नुभयो– ‘अब कसैले झुटो मुद्दाको सिकार हुनुपर्दैन । हातमा फाइल बोकेर काठमाडौं धाउनुपर्दैन । त्यस्तो प्रतिज्ञा गर्न आएका छौँ ।’
उहाँले प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने, प्रत्येक नागरिकले आफ्नो सपना देख्न पाउने र जीवनकालमा त्यसलाई साकार पार्न सक्ने अवसर पाउने बताउँदै कृषकलाई केन्द्रमा राख्दै नेपाललाई पेटभरि खुवाउने र आफ्नै उत्पादनलाई विश्वभर चिनाउने किसानको देश बनाउने प्रतिज्ञा गर्नुभयो ।
सभापति थापाले आफू मधेसको नेता हुन नभएर छोरा हुन मधेस प्रदेशमा आएको बताउनुभयो । उहाँले ‘मधेसको नेता हुन होइन, मधेसको बेटा हुन आएको हुँ’ भन्नुभयो ।
उहाँले आफ्नो नशामा मधेसको रगत नभए पनि छातीमा मधेसको सपना भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– ‘मेरो नशामा मधेसको रगत छैन, ढाँट्दिनँ । मेरो छातीमा दुर्गानन्द झाको सपना छ ।’ थापाले त्यही सपना पूरा गर्न मधेस आएको भनी कारण खुलाउनुभयो ।’
भावुक हुँदै सभापति थापाले ‘मधेसको माईको सपना पूरा गर्न आएको छु । यहाँ डुब्न आएको छु, यहाँको सपना बोक्न आएको छु,’ भन्नुभयो । उहाँले अब यहाँका मधेसी संसद् छिर्दा धोती गम्छा लुकाएर, दौरा सुरुवाल लगाएर छिर्नुपर्ने होइन धोती कुर्ताले नै लगाएर छिर्न सक्ने संसद बनाउने गरी देश बदल्न आएको बताउनुभयो ।
कांग्रेसले मधेसबाट देशको राष्ट्रपति बनाएको जिकिर गर्दै अब मधेसबाट प्रधानमन्त्री बनाउने बेला आएको उहाँको भनाइ थियो । ‘अब मधेसीले मधेसकै प्रधानमन्त्री बनाउने बेला आएको हो’ –उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्ववप्रकाश शर्माले पुरानै ढंगले चलेर नयाँ देश बनाउन नसकिने भएकाले कांग्रेस बदलिएको सन्देश दिन मधेस आएको जिकिर गर्नुभयो । उहाँले अहिले देशसँगै मधेस पनि दुखिरहेको उल्लेख गर्नुभयो । ‘अहिले देशलाई दुखिरहेको छ, मधेसलाई दुखिरहेको छ,’ शर्माले भन्नुभयो– ‘कसलाई जिताउने भन्ने होइन, देशलाई कसले जोगाउने भन्ने हो । कसले सम्हाल्ने भन्ने हो ।’
नेपाली कांग्रेसको प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार–संक्षेपमा प्रस्तुत गरेको छ । जसलाई अर्को शब्दावली कांग्रेसले ‘कांग्रेस टु प्वाइन्ट जिरो’को जगका रूपमा व्यख्या गरिएको छ । पुनरुत्थानमा सफल सुरुआत गरेको कांग्रेसले नै जनताबाट इच्छित भविष्य साकार पार्न संकल्प लिएको छ ।
यस्ता छन् १० भिजन
–सम्मानित भएर बाँच्न पाउने नेपाल
–सपना देख्न सक्ने नेपाल
–सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल
–पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
–ओखती र ओत दिने नेपाल
–छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
–बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
–मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल
–विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
–समुन्नतिमा लम्किने नेपाल











प्रतिक्रिया