“नेपाललाई सुधार चाहिएको छ, पाँच वर्ष खेर नफाल्ने संकल्प” : कांग्रेसका सभापति थापा


काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार आवश्यक भएको भन्दै पाँच वर्ष खेर नफाल्ने संकल्पसहित आफ्नो दल अघि बढेको बताएका छन्।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा सभापति थापाले नागरिक, विशेषगरी युवाहरूमा असन्तोष बढेको उल्लेख गर्दै, देश सञ्चालनको वर्तमान शैलीप्रति गुनासो जायज रहेको बताए। उनले भने, “नेपाललाई सुधार चाहिएको छ। सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँ। पाँच वर्ष खेर नफाल्ने गरी योजना र संकल्पसहित अघि बढ्ने हाम्रो उद्देश्य हो।”

थापाले देश परिवर्तनका लागि केवल आवेग वा रिस पर्याप्त नभएको पनि बताए। देश निर्माणमा सबै राजनीतिक दलको सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। उनले सबै दललाई समेटेर अघि बढ्ने भूमिका नेपाली कांग्रेसले निर्वाह गर्ने दाबी गरे।

“देश रिस वा आवेगले बदलिंदैन। हामी फरक दल हौँ, तर सबैको भूमिका आवश्यक छ। एमाले, माओवादी, रास्वपा, जसपा सबैको सहभागिता बिना देश बन्न सक्दैन। त्यसैले सबैलाई मिलाएर लैजाने राजनीति आजको आवश्यकता हो, र त्यो नेपाली कांग्रेसले गर्छ,” थापाले भने।