विमानस्थलमा कडा सुरक्षा, २० डीएसपीको कमाण्डमा प्रहरी परिचालन


काठमाडौँ ।

ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउँदै छन् । उनको स्वागतका लागि समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमामा भेला हुने तयारी गरेका छन् ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले दिउँसो १२ बजे विमानस्थलमा भेला भई भव्य स्वागत गर्न आह्वान गरेको छ । सम्भावित उच्छृङ्खल गतिविधिलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।

विमानस्थलको गोल्डेनगेटदेखि निर्मल निवाससम्म २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । विमानस्थलभित्र निषेधाज्ञा लागू भएकाले प्रवेशमा कडाइ गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

साथै, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।