–मनोहरामा भने तनाव, केही सुरक्षाकर्मी घाइते
काठमाडौं ।
सरकारले थापाथली, गैरीगाउँ र मनोहरास्थित खोला किनाराको सुकुम्बासी बस्ती खाली गरेको छ । ती बस्तीहरूमा ४० परिवारका १४१ जनाभन्दा बढीलाई सुकुम्बासी बस्तीबाट हटाएको हो । भवनमा सक्कलीभन्दा पनि नक्कली सुकुम्बासीको संख्या अधिक रहेको थियो । हिजो सुकुम्बासी बस्ती खाली गर्दा सो तथ्याङ्क मेल खायो । अर्थात् वास्तविक सुकुम्बासीको संख्या अत्यन्तै न्यून थियो । सम्भवतः राजधानीका सबै क्षेत्रमा वास्तविक सुकुम्बासीको संख्या सय बढी ननाघ्ने अनुमान गरिएको छ । भक्तपुरको मनोहरा क्षेत्रमा भने शनिबार साँझ तनाव सिर्जना भएपछि बस्ती खाली गर्न रोकिएको छ । सुकुम्बासीको ढुंगा प्रहारबाट केही सुरक्षाकर्मी घाइते भएक छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार तीन सुरक्षा निकाय प्रमुखलाई बस्ती खाली गर्न निर्देशन दिनुभएको थियो । लगत्तै शुक्रवार बिहानै माइकिङ गरी शनिवारबाट हटाइएको हो । यसअघि २०७९ मंसिर १२ मा कामपाले थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न खोज्दा असफल भएको थियो ।
त्यसबेला कामपा प्रहरी र सुकुम्बासीबीच खाली गराउने प्रयास हुँदा झडप भएको थियो । राजनीतिक दलको आड पाएका र वर्षौंदेखि बसिरहेका सुकुम्बासी बस्ती सरकारले खाली गर्न सकेन । हिजो शनिवार तीन स्थानमा शान्तपूर्वक खाली गरेको हो ।
नेपाल प्रहरीले घर खाली गराएपछि कामपा प्रहरीले सफा गरेको थियो भने आश्रय नभएका बच्चा, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई सुरक्षित व्यवस्थापन गरेको थियो । बस्ती खाली गर्नेक्रममा सामान्य झडप भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेकाले तत्काल स्थिति नियन्त्रणमा आएको थियो । लगत्तै नेपाल प्रहरीले बस्तीमा रहेका घरको सामान सार्न सहयोग गरेको थियो ।
सामान सारेलगत्तै सहरी विकास मन्त्रालय र कामपाका आधा दर्जन डोजरले भत्काउन सुरु गरेका थिए । थापाथलीमा सक्कलीभन्दा पनि नक्कली सुकुम्बासीको संख्या अत्यधिक रहेको थियो । बस्ती खाली गरेलगत्तै वास्तविक सुकुम्बासीको नाम दर्ता गराउन आग्रह गरेको थियो । तर, अधिकांश डेरा खोजेर सरिसकेका थिए । नगन्यले मात्र सुकुम्बासीको नाम दर्ता गराएका थिए ।
काठमाडौं महानगरपालिका प्रहरी बल प्रमुख विष्णुराज जोशीले बस्ती हटाउन कुनै समस्या नभएको बताउनुभयो । बिहीबार साँझबाट माइकिङ गरेलगत्तै शुक्रवार दिनभर अधिकांशले आफैं घर खाली गर्न थालेका थिए । उहाँले भन्नुभयो– ‘सेल्टरमा राखिएका सबैलाई खाने र बस्ने व्यवस्था महानगरले गरेको छ । कुनै समस्या छैन ।’ उहाँले वास्तविक सकुम्बासी पहिचान गरी उनीहरूलाई स्थायी वासस्थानका रूपमा इचंगु आवासमा लैजाने जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाहको सचिवालयले वास्तविक सुकुम्बासीलाई एक महिनाभित्र स्थायी रूपमा बसोबास व्यवस्था गर्ने तयारी थालेको छ । सहरी विकासमन्त्री सुनील लम्सालले स्थान उपलब्ध गराउने विषयमा छलफल जारी राख्नुभएको छ ।
कामपाले काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए), वागमती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासी भएको भनिएकाको नाम दर्ता गराएका थिए । प्राधिकरणका विकास आयुक्त जानुका ढकालले २९ जनाले सुकुम्बासी भएको प्रमाणसहित नाम दर्ता गराएको जानकारी दिनुभयो । उनीहरू वास्तविक सुकुम्बासी हुन् कि होइनन् भन्ने विषयमा अनुसन्धान गर्न बाँकी रहेको विकास आयुक्त ढकालको भनाइ थियो । प्रमाणीकरण गर्नेक्रममा जम्मा १३ परिवारलाई राधाश्वामी सत्सङ्ग भवनमा २९ र ६ परिवारलाई दशरथ रंगशालामा राखिएको छ । यसअघि प्रतिरोधमा उत्रिएका बस्तीका स्थानीयले यसपटक भने चुपचाप आफ्ना सामान सारेका थिए ।
शुक्रवार प्रधानमन्त्री बालेनले आफ्नो फेसबुक पेजमा बर्खाको बेला आएको बाढीले बस्ती डुबान पारेको तस्बिर राख्दै सुकुम्बासीको उचित व्यवस्थापन गरिने र हालको बस्ती खाली गर्न सहयोग गर्न अपिल गर्नुभएको थियो । आफू कामपाको मेयर हुँदा हटाउन नसकेको बस्ती प्रधानमन्त्री भएपछि खाली भएको छ । थापाथली र सिनामंगलको बस्ती खाली गराएको र मनोहरा, सिनामंगललगायतका क्षेत्रमा रहेका बस्ती हटाउने योजना रहेको महानगर प्रहरीबल प्रमुख जोशीले बताउनुभयो । प्रधानमन्त्रीको सचिवालयले सुकुम्बासी बस्तीहरू हटाउने क्रममा साइटमै सुकुम्बासीको व्यवस्थापन र राहत उपलब्ध गराएका थियो । प्रम कार्यालयको निर्देशनमा सबैलाई खाना र खाजाको व्यवस्था थियो ।
शनिवार बिहानैदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कार्यसँगै तत्कालको खानाको व्यवस्थापन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो । सरकारले शनिवार र आइतबार खाली गराइएका सुकुम्बासी बस्तीमा वास्तविक सुकुम्बासीलाई कीर्तिपुरको सत्सङ्गको ठूलो भवन, भक्तपुरस्थित बोडेमा कृषि विकास बैंकको तालिम केन्द्र, भक्तपुरको खरीपाटी र चाँदबागमा सरकारी भवन र खाली जग्गा पनि अस्थायी बसोबासको व्यवस्था गरिने जनाएको छ । योजनाअनुसार पहिलो चरणमा सुन्दरीघाटस्थित सत्सङ्ग भवनमा राखिएको छ । अन्यलाई कसरी व्यवस्थापन गर्नेलगायत विषयमा छलफल जारी छ ।
अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले २०७९ काठमाडौंका २० वटा वडाका २७ स्थानमा सुकुम्बासी बस्तीमा ३ हजार ४ सय ९६ घरधुरी रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । समितिले धोबीखोला, वागमती, विष्णुमती, बालाजुलगायतका क्षेत्रबाट सुकुम्बासी बस्ती हटाएको थियो । खोला किनारामा बसोबास गर्नेमध्ये करिब १० प्रतिशतमात्र सुकुम्बासी रहेको तथ्याङ्क छ ।
बस्ती खाली गराउने कार्य जारी
सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ । यस क्रममा काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ ।
यसै गरी, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू खाली गर्ने तयारी भएको छ । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदनअनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४ सय ९६ घरधुरी अव्यवस्थित बसोबासी छन् । तीमध्ये काठमाडौं महानगरभित्र २ हजार २ सय ४५ घरधुरी छन् भने कागेश्वरी नगरपालिकामा ९०, बूढानीलकण्ठमा १ सय ५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७ सय ७३ अव्यवस्थित बसोबासी छन् ।
तीन वर्षको अन्तरालमा केही घर थपिएका हुन सक्छन् । यस आधारमा काठमाडौं उपत्यकामा झन्डै ४ हजार अव्यवस्थित बसोबासी रहेको अनुमान छ । बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका छन् । यी क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ ।
हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ । सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पु¥याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ ।
हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्सङ्ग ब्यास नेपालमा भिन्नाभिन्नै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ । अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिनेछ । वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिनेछ ।
होल्डिङ सेन्टरमा स्वास्थ्य परीक्षण
उपत्यका विकास प्राधिकरणमा दर्ता भएर दरशरथ रंगशालामा पुगेका सबै सुकुम्बासीको स्वास्थ्य परीक्षण भएको छ । काठमाडौं महानगरपालिका–११ को बबरमहल, ३१ को भीमसेनगोला र ३२ वडाको पेप्सीकोलास्थित स्वास्थ्य प्रवद्र्धन केन्द्रमा स्वास्थ्य परीक्षण गरी होल्डिङ सेन्टरमा लग्ने व्यवस्था गरेको छ । सुकुम्बासीलाई कुनै समस्या पर्न नदिन प्रधानमन्त्री सचिवालयले निरन्तर निर्देशन दिइरहेको छ ।
सुकुम्बासीलाई नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
सरकारले काठमाडौँका पाँचवटा बस्तीबाट हटाइएका सुकुम्बासीलाई नागार्जुनको सरकारी अपार्टमेन्टमा राख्ने तयारी गरेको छ । काठमाडौँका नदी किनारका सुकुम्बासी बस्ती हटाउने क्रम जारी राखेको सरकारले वास्तविक सुुकुम्बासीको उचित व्यवस्थापन गरिने जनाएको छ ।
खोला किनारबाट हटाइएका सुकुम्बासीलाई सम्पर्क गर्न भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ । सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पु¥याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौँका विभिन्न होटलहरूमा राखिएको जनाइएको छ । हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग व्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
होटलमा राखिएका परिवार वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य आइतबारबाट सुरु गरिने भएको छ । वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गर्ने सरकारी योजना छ ।











प्रतिक्रिया