स्वागत विवादपछि सांसद पोखरेलद्वारा माफी


काठमाडौं ।

आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका रास्वपा सांसद विश्वराज पोखरेलले माफी मागेका छन्। ओखलढुङ्गाको एक विद्यालयमा स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापकसँग आक्रोशित भएको भिडियो सार्वजनिक भएपछि उनको व्यवहारको आलोचना भएको थियो।

पोखरेलले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएको भिडियो पूर्ण सन्दर्भबिनाको भएको दाबी गरेका छन्। केही अंश मात्र काटछाँट गरी प्रस्तुत गर्दा घटनाको वास्तविकता विकृत भएको उनको भनाइ छ।

तथापि, सार्वजनिक जीवनमा आफ्नो बोली र व्यवहार अझ संयमित हुनुपर्ने स्वीकार गर्दै उनले खेद प्रकट गरेका छन्।

उक्त घटनामा उनले आफूलाई स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापकलाई ‘म आउँदा निस्किनु पर्छ’ भन्दै थर्काएका थिए, जसले विवाद चर्किएको थियो।