………………………………………………..
पूर्वतिरको यात्रा तय गरिंदा बरमुजियाको पेंडाको याद आईहाल्छ तर कुन चांहि असली हो र कुन चांहि नक्कली पेंडा हो भन्ने कुरामा नखोजेसम्म हामी बिच अन्यौलता कायम रहिरहन्छ, त्यहां त पसलैपिच्छे उही बाजेको पेंडा, असली बाजेको पेंडा, सक्कली बाजेको पेंडा यता जस्ता थुप्रै किसिमबाट आ-आफ्नै स्वार्थ अनुकुल भ्रमपूर्ण प्रचार प्रसार भएजस्तै आगामी फाल्गुण २१ मा हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुराना र नयां दलहरु एवं दलहरुका उम्मेदवारहरुले देश र जनताको हितको लागि आफुहरु अत्यन्त प्रभावशाली सिद्ध पुरुष भएको र प्रतिद्वन्द्वीहरु कमजोर भएको लोकप्रिय नाराहरु र मिठा मिठा सपनाहरु बांड्न तल्लीन रहंदै आएका छन् । केवल यहां आमनागरिकहरु रणभुल्लमा परिरहेका छन् , कुन दलका राम्रो एवं सक्षम उम्मेदवारलाई विश्वास गरी मतदान गर्ने भनेर । यहां चुनाव केन्द्रित स्टण्टबाज र अल्पकालीन सोचकासाथ देवत्वकरण गरिएका पात्रहरुबाट आएको जनलहरमा बुझेर वा नबुझेर पछि पछि लाग्ने प्रवृत्ति हावी भईरहेको वर्तमान अवस्थासम्म पनि यकिन के हो भ्याउ नै नपाई अन्घाधुन्ध तरिकाले आफ्नो कान छ कि छैन छाम्नै बिर्सिएर दौडिईरहेको जनमानस पनि देखिन्छ।
आम नागरिकहरुले पुराना दलका सक्षम र असक्षम उम्मेदवारहरुलाई त केही हदसम्म उनीहरुका विगतको कार्यशैली र ब्यबहारहरुको समीक्षाबाट छुट्याईसकेका छन् होला पनि। तथापि, यहां भर्खरै उदाएका दलहरुका उम्मेदवारहरुको कार्यशैली र ब्यबहार त अहिलेसम्मन जनमानसले मूल्यांकन गर्नै पाएका छैनन् । कुनै कुनै नयां दलका केही सिमित उम्मेदवारहरुको छोटो समयको कार्य ब्यबहार हेरेर सिंगो दलका उम्मेदवारहरुमा हामफालेर विश्वास गर्न पनि आमजनमानसले हतार गर्नुहुन्न, नयां अनुहारहरुको पृष्ठभूमिलाई प्रष्टसंग केलाएर (Vetting) मात्र आफ्नो अमूल्य मत विश्वासकासाथ दिनुपर्ने हुन्छ। नत्र त फेरि अर्को पांच वर्षको लागि गम्भीर धोकामा पर्न पनि सकिन्छ, यो अत्यन्त विचारणीय कुरा छ।
अहिलेसम्म कतिपय पुराना र नयां दलहरुका चुनावी वाचा वा घोषणापत्र जारी भइसकेको छैन, खाली चुनावी नाराहरुमा मात्र देश दौडाहाका कार्यक्रम सन्चालन भईरहेका छन्। यिनीहरुका लिपिबद्ध दलगत घोषणा र सो लाई पुरा गर्ने प्रतिवद्धता जारी नगरिकन कुन आधारले चुनावी नाराको आश्वासनले मात्र मतदाताहरुले विश्वास गर्ने हो र? यहां कुनै कुनै प्रमुख दलहरु आगामी चुनावको केहि दिन बांकी रहंदा चुनाव कै मुखमा आ-आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भनिराखेका छन्।
आमजनसमुदायले यो बुझ्नु जरुरी छ कि, सबै राजनीतिक दलले देश र जनताको सर्वोपरी हितलाई केन्द्रविन्दुमा राखेर बेजोड प्रचार प्रसार गर्ने गर्दछन्, तर केन्द्रविन्दुमा राखिएको एजेण्डाहरुको लागि किन सबै दलहरु सच्चिएर एकाकार भई मिलेर अघि बढ्न नसकेको होलान् भनि आमनागरिकहरु अन्यौलताका बिच कुहिरोमा हराईरहेको कागजस्तै गन्तव्य पहिल्याउन नसकि दिशाहिन भईरहेका छन् ।
यहां पुराना राजनीतिक दलहरुबाट जेनजी पुस्ताको आन्दोलनको माग, मर्म र भावना अनुकुल हुनेगरी कत्तिको सच्चिएर जनताको बिच कुन कुन मूख्य मूख्य वाचाहरु लिएर चुनावमा होमिएका छन् त? कुन कुन पुराना दलहरु प्रमाणितरुपमा के के कुराहरुमा सच्चिएर आए त? अझ नयां दलहरुको वाचा अनुरुपको देश र जनताप्रति गरिने कार्यशैली र ब्यबहार त हेर्न नै बांकी रहेको देखिन्छ।
यस्तै यस्तै अन्यौलताको बिच चुनावी वातावरण असुरक्षित नहोस् भनि श्री राष्ट्रिय मानव अधिकार आयोगले २०८२ माघ १३ गते राजनीतिक दलका जिम्मेवार ब्यक्तिहरुले चुनावी अभियानको क्रममा एक अर्काप्रति आरोप-प्रत्यारोपमा उत्रिएर समाजमा घृणाजन्य अभिव्यक्तिहरुको प्रचार प्रसार हुंदै गएबाट त्यसबाट हुनसक्नेअराजकताले प्रश्रय पाइ चुनावको शान्ति सुरक्षामा चुनौती सिर्जना गराउनसक्ने देखिएको पृष्ठभूमिमा सजग र सचेत गराउन प्रेस विज्ञप्ति समेत जारी गरिसकेको छ। यहां अर्को प्रसंग जुन चुनाव सुरक्षा, मौसमको प्रतिकुलता तथा उपलव्ध साधन र श्रोत को कारण चुनाव निष्पक्ष, शान्तिपूर्ण, पारदर्शी, धांधलीरहित एवं भयमुक्त वातावरणमा तोकिएकै मितिमा हुनै नसक्ने ठोकुवा पनि गर्न थालिएको छ भने नेपाल सरकार र राष्ट्रिय निर्वाचन आयोग तोकिएकै मितिमा आसन्न निर्वाचन सम्पन्न हुनेमा निश्चिन्त हुन प्रतिवद्धता समेत जनाईराखेको छ ।
त्यसैगरी, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मूख्य मूख्य आशालाग्दा राजनीतक दलहरुका चुनावी चिन्ह अनुरुप देश र जनताको अपेक्षा बिच शंका निम्न रहेको देखिन्छः
रुख चिन्हः के चुनावपछि जनताले वि.पि. कै पदचाप पछ्याउंदै रुखमा आशाको पालुवा पलाएको अनुभूति गर्न पाउलान त?
सूर्य चिन्हः चुनाव पछि सूर्य जनताको माझ उदाउंदो वा अस्ताउंदो कुन अवस्थामा पुग्ला त?
हलो चिन्हः के चुनावपछि हलोले बांझो जमिन जोतेर लहलह बाली झुलाएर जनतामाझ हिन्दु धर्म र राजसंस्था पुनर्स्थापित गराउने आशा जगाउन सक्ला त?
तारा चिन्हः के चुनावपछि तारापुन्जमा रहेको ध्रुवताराले जस्तै देशलाई सही दिशानिर्देश गरी जनतामाझ आशा जागृत गर्न सक्ला त?
घण्टी चिन्हः के चुनावपछि मन्दिरमा झुण्डिएको घण्टीले जस्तै गुन्जिएको ध्वनिले जनतामाझ सकारात्मक रक्तसन्चार प्रवाह गर्न सक्ला त? आशाको बिच निराशाको विजारोपण कहिं कतै घण्टी घण्टाजस्तो भाष्यमा परिणत हुने सम्भावना कत्तिको छ त ?
त्यसैले, स्वच्छ छवि भएको भनिएका राजनीतिक दलहरुले चुनावको लागि उम्मेदवार घोषणा गर्नु पूर्व नै आफ्ना प्रतिवद्धता सहितका पुष्टी गर्नसकिने घोषणापत्र जारी गर्दै दलका उम्मेदवारहरु सहित चुनावी अभियानमा जांदा निसंकोच दलहरुप्रति जनताको आत्मविश्वास बढ्दै जाने देखिन्छ। कुनैपनि स्व्च्छ छवि भएको राजनीतिक दलको लागि सम्भावित घोषणापत्रको लागि केही प्रतिनिधिमूलक सुझावहरु निम्न रहेका छन्ः
१. मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमान अक्षुण्ण राखी जनताको सर्वोपरी हित रक्षार्थ कुनै ब्यक्तिगत वा दलगत मुलाहिजा वा स्वार्थमा नपरी सदैव दृढ संकल्पित रहनेछ । यदि दलको उच्च देखि तल्लो पदोसपानमा रहि विभिन्न महत्वपूर्ण जिम्मेवारीहरु सम्हालेका ब्यक्तित्वहरुले मातृभूमिको हित र जनता प्रति घात गरेको प्रमाणित भएमा अनुशासन, ईमान्दारिता एवं नैतिकताको सिद्धान्त अक्षरशः अवलम्वन गरी यस दलले कारवाही गर्न कुनै विलम्व नगरी दलबाट अविलम्व निष्काषित गर्नेछ । यसरी दलले कारवाही गरिएका ब्यक्तिहरुको नामावली विभिन्न माध्यमहरुबाट आमजनसमुदाय समक्ष सार्वजनिक गरी पारदर्शिता र दलमा दण्डहिनता नरहेको नीतिको पूर्ण पुष्टी गर्नेछ।
२. यस दलले “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी“ भन्ने मूलमन्त्रलाई अंगिकार गर्दै राष्ट्रिय सुरक्षा नीतिमा उल्लिखित राष्ट्रिय हित (National Interest) का विषयहरुलाई मूख्य प्राथमिकतामा राखि त्यसलाई विभिन्न माध्यम ( Ends, Ways & Means) र कुटिल नीतिद्वारा पूर्ति गर्न विशेष भूमिका निर्वाह गर्नेछ। राष्ट्रिय हित विपरित कार्य गर्ने देशघाती बिरुद्ध राष्ट्रिय/अन्तराष्ट्रिय कानून, सन्धी तथा सम्झौता अनुरुप कानूनतः कारबाहीको लागि चट्टानी अडान लिनेछ ।
३. यही २०८२ भदौ २३ र २४ मा भएको जन आन्दोलनको मर्म र भावना अनुरुप मुलुकमा व्याप्त भ्रष्ट्राचार, कुशासन, प्रतिशोध, चरम बेथिती, समाजमा व्याप्त गरिबी, दण्डहिनता, परनिर्भरता, अस्वभाविक मूल्य बृद्धि, मौलिक हक एवं मानव अधिकारको हनन, बेरोजगारी, बैदेशिक रोजगारी तथा उच्च शिक्षा हासिल गर्ने निहुंमा युवाहरु विदेश पलायन जस्ता अकल्पनीय एवं अस्वभाविक मुलुकको लागि अहितकर क्रियाकलापको अन्त्यको लागि यस दल किन्चित नडगमगाई निर्मम एवं कठोर कदम चाल्न वाध्य रहेको छ।
४. देशमा नै रोजगारीको वातावरण सिर्जना गरी युवाहरुलाई विदेशको श्रम बजारमा भौंतारिन बाध्य नपार्न र बिदेशमा रोजगारी लगाईदिने निहुंमा ठगीमा पर्नबाट बचाउन स्वदेशमै पर्यटन, जलविद्दुत, ठूला ठूला उद्द्योग एवं कलकारखानाहरुको निर्माण, कृषि जस्ता क्षेत्रहरुको पहिचान गरी लगानीको लागि विज्ञहरुको सुझावको आधारमा सुहाउंदो वातावरण तयार गर्न आवश्यक कदम चाल्नेछ।
५. दलगत भागबण्डाको राजनीति र स्वार्थले भरिएको कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकालाई शुद्धीकरण मार्फत स्वतन्त्र, निष्पक्ष एवं पारदर्शीरुपमा परिणाममूखी कार्य सन्चालन गर्नसक्ने बनाउन र विगतदेखि वर्तमानसम्म भएका सबै प्रकारका भ्रष्ट्रचार, आर्थिक अनियमितता, सम्पत्ति शुद्धीकरण, आर्थिक चलखेल एवं आर्थिक अपराधको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रतिवद्ध रहिआएको छ । यस्ता जघन्य प्रकृतिका क्रियाकलापहरु भविष्यमा पुनः दोहरिन नदिन र पूर्ण नियन्त्रणको लागि नियामक निकाय अख्तियार अनुसन्धान आयोगलाई बलियो, स्वतन्त्र र निष्पक्षरुपमा छानविन गर्नसक्ने आयोगकोरुपमा पुनर्गठन गरी पूर्ण अधिकार
प्रत्याभूत गरी दोषीलाई कारबाहीको दायरामा लेराउन यस दल प्रतिवद्ध रहेको छ।यस आयोगलाई कुनै दवाव र प्रभावमा नपार्न आवश्यक भएमा भ्रष्ट्राचार निवारण ऐनमा रहेका जटिलताहरु हटाई उक्त ऐनलाई परिस्कृत ढंगले परिमार्जन एवं संशोधन गरी लागू गरी भ्रष्ट्रचार रहित देशको सूचीमा राखी अन्तराष्ट्रिय जगतमा मुलुकको छवि उच्च राख्न प्रतिवद्ध रहेको छ।
६. दक्षिणी छिमेकी मुलुक भारततर्फ रहेको खुल्ला सीमाना र सीमा सम्वन्धी बिबादहरुलाई द्वीपक्षीय कूटनीतिक वार्ता मार्फत समाधान गरी सीमा नाकामा रहेका आवश्यक नाकाहरुमात्र खोल्नेगरी सशस्त्र प्रहरी बल, नेपालद्वारा प्रभावकारीरुपमा नियमन गर्न आवश्यक श्रोत साधन र पूर्वाधारहरु सहितको योजना गरी कार्यान्वयनको लागि पहलता लिनेछ। जसबाट अन्तरदेशीय सीमा अपराध, आतंककारी गतिविधि,विभिन्न देशका शरणार्थीहरुको प्रवेश र राजश्व चुहावट नियन्त्रण गर्न समेत मद्दत पुग्नेछ।
७. परराष्ट्र नीति, कूटनीतिक सम्वन्ध विस्तार एवं विभिन्न जटिल प्रकृतिका देश र जनतालाई परेका जटिल किसिमका समस्याहरुलाई यथोचित ढंगले शीघ्र प्रवन्ध गर्ने ठोस लक्ष्य लिई दलको केन्द्रीय कार्यालय मातहत बौद्धिक व्यक्तित्वहरुको समूह (Think Tank Group) रही सोध कार्य निरन्तर सन्चालन गरिरहनेछ। उक्त समूहको सुझावलाई यस दलले आत्मसात गरी देश र जनताको हितको लागि प्राथमिकताक्रममा राखि कार्यान्वयन गर्न प्रतिबद्ध रहेको छ।
८. देश समृद्ध बनाउन सकिएमा मात्र जनता र दल स्वतःसमृद्ध हनेमा कुनै दुईमत छैन । यस दलले मात्र एकतर्फी वचनवद्धता प्रकट गरी देश समृद्ध बनाउने यात्रामा होमिंदा यात्रा कठिन हुने निश्चित नै छ। तसर्थ, तपांईहरु सम्पूर्णले देश समृद्ध बनाउने अभियानमा निःस्वार्थरुपमा यस दलसित हातेमालो गरी अमूल्य साथ सहयोग र प्रभावकारी समन्वय गरिंदा हामीले नसोचेको गतिमा देश विकासले फड्को मार्नेमा यस दल पूर्णरुपमा विश्वस्त रहिआएको छ ।
९. यस पार्टीले जनता माझ सपना मात्र बांडेर भ्रमको खेती गर्दैन, आम जनतालाई बांडेको सपनालाई मर्न नदिई योजना र श्रोत ब्यबस्थापन सहित जनताको आधारभूत आवश्यकता परिपूर्तिलाई प्राथमिकताको केन्द्रविन्दुमा राखि सपनालाई सफलतापूर्वक यथार्थमा बदल्न सदैव दिलोज्यान दिन प्रतिबद्ध भई दीर्घकालीनरुपमा राष्ट्रिय राजनीतिमा उदय भई देश रुपान्तरण गर्न दृढ संकल्पित रहेको छ।
१०. विज्ञहरुको सुझावको आधारमा आम जनता माझ शिक्षा र स्वास्थ्यको पहुंचलाई स्तरीय, सर्वसुलभ एवं निःशुल्क बनाउन दीर्घकालीन सोचकासाथ योजना तर्जुमा र कार्यान्वयन गरी आमजनताहरुलाई प्रत्यक्ष लाभान्वित गराउने हेतुले ठोस कदम चाल्नेछ ।
११. यस दलले समग्र देशको विकास र रुपान्तरणको लागि विकास र सुरक्षालाई सन्तुलित गर्दै योजनाको प्रभावकारी कार्यान्वयन व्यवस्थित ढंगले गर्ने गर्दछ। विकासलाई परिमाणात्मकरुपमा नहेरी मूल्यांकनको आधारमा गुणात्मक विकासलाई विशेष जोड दिनेछ। विगतमा जस्तो हचुवाको भरमा गरिने टुक्रे एवं डोजरे विकासको पूर्णरुपमा अन्त्य गरिनेछ। साथै, वैश्विक परिवेशको लाभ लिई मुलुकलाई उपलव्ध साधन र श्रोतको आधारमा बहुआयामिक क्षेत्रबाट शान्त, सुन्दर, समृद्ध, सबल अर्थतन्त्र भएको आत्मनिर्भर र वैभवशाली नेपाल तुल्याउने सोचमा आधारित रहि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गरी मुलुकको नेतृत्वमा जुनै सरकार आएपनि बजेटको सुनिश्चितताको लागि कुनै फरक नपर्ने नीति निर्माण गरी प्रभावकारी कार्यान्वयनको लागि समेत यस दलले जोड दिनेछ।
१२. संघियतामा आधारित शासन प्रणाली अनुरुप प्रदेश र जिल्लाहरुको सामाजिक तथा आर्थिक विकासको सूचाकांक (Human Development Index) लाई जिल्लागतरुपमा एक आपसमा तुलना गरी आमजनताको आधारभूत आवश्यकतालाई सन्तुलितरुपमा परिपूर्ति गर्न पछौटेपनको नियती भोगिरहेका प्रदेश एवं जिल्लाहरुको उत्थानको लागि योजनाबद्धरुपमा आवश्यक पर्ने बजेट विनियोजनसहित अघि बढ्नेछ ।
१३. मुलुकमा आईपर्नसक्ने कुनैपनि प्राकृतिक प्रकोप, विपद् तथा आपतकालीन अवस्थामा सम्पूर्ण दलका कार्यकर्ताहरु घटनामा पीडित जनताहरुको घाउमा मलम लगाउन एवं अतिआवश्यकीय मानवीय सहयोग तत्काल उपलव्ध गराउन अपनत्व लिई परिचालित हुन एवं अन्य सहयोगीहरुसंग समन्वयात्मकरुपमा सहकार्य गर्न सदैव तयार रहनेछ। उक्त कार्यको लागि यस दलको केन्द्रीय कार्यालय र क्रमशः प्रदेश स्थित कार्यालयहरुमा आवश्यक कोषको ब्यबस्था गरिंदै लगिने छ ।
१४. राष्ट्रिय एकताको भावनालाई अक्षुण्ण राख्न सबै जातजाति, धर्म संस्कृति मान्नेहरुलाई उच्च सम्मानकासाथ सयौं फूलका थुंगा माला हामी नेपाली र अनेकतामा एकता को सुन्दर नेपालको फुलबारीमा सम्पूर्ण नेपालीलाई समान दृष्टि र ब्यबहार प्रदर्शन गरी फुटेर होइन जुटेर देश निर्माणमा अघि बढ्न यस दलका सम्पूर्ण ब्यक्तिहरु हरदम तम्तयार रहेको छ ।
१५. दलबाट भए गरेका कार्यहरुको विश्लेषणात्मक मूल्यांकन सहित टिकाटिप्पणी र रचनात्मक अमूल्य रायसुझावहरुको अपेक्षा गर्दै प्राप्त रायसुझावहरुलाई सहर्ष स्वीकार गरी यस दलले अपनत्व लिनलाई कुनैपनि विलम्व गर्नेछैन। तदनुरुप प्राप्त रायसुझावलाई आधार मानि यस दललाई सुसंस्कृत, समुन्नत एवं सुदृढरुपमा विकास गर्दै लगि आमजनमानसमा विश्वासयोग्य छवि भएको दलकोरुपमा उभ्याउन प्रतिबद्ध रहेको छ।











प्रतिक्रिया