सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते, दुईको अवस्था गम्भीर


सल्यान ।

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। शारदा नगरपालिका–२ खलंगास्थित सिँचाइ कार्यालय नजिकै खलंगा–श्रीनगर सडकखण्डमा सोमबार दिउँसो अटो दुर्घटना भएको हो।

प्रहरीका अनुसार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका १० जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ। अटो चालक शारदा नगरपालिका–६ का २५ वर्षीय अर्जुन डाँगीलाई भने कुनै चोट नलागेको र उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा सल्यान सिद्धकुमाख गाउँपालिका–२ का ३५ वर्षीय दीपक विक, शारदा नगरपालिका–११ का १९ वर्षीय रेशमबहादुर नेपाली, सिद्धकुमाख गाउँपालिका–१ का ७८ वर्षीय टरबहादुर रेउले, बनगाड कुपिण्डे नगरपालिका–९ की २३ वर्षीया संगिता विक, उनका ७ वर्षीय छोरा दीपक र ३ वर्षीया छोरी सृष्टि रहेका छन्।

यसैगरी दाङको बबई गाउँपालिका–६ की २३ वर्षीया कृष्णा बुढाथोकी, उनकी ३ वर्षीया छोरी स्मृति, सिद्धकुमाख गाउँपालिका–२ की ३८ वर्षीया धनी सुनार र सोही स्थानकी ३९ वर्षीया पुष्पा सुनार पनि घाइते भएका छन्।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।