ग्राउन्ड जिरो ! ललितपुर–२नेवाः विरासत जोगिएला कि भत्किएला ?

658
Shares

ललितपुर ।

२०४८ सालदेखि नेवाः समुदायका त्यसमाथि ‘कोर पाटन’का उम्मेदवारले जित्दै आएको ललितपुर–२ मा यसपटक विरासत जोगाउने कि तोड्ने भन्ने निर्णायक लडाइँ देखिएको छ ।

ललितपुरको घनाबस्तीका ९ वटा वडा र साविकका पाँचवटा गाविस इमाडोल, टिकाथली, सिद्धिपुर, लुभु र लामाटार समेटिएको महालक्ष्मी नगरपालिका यस क्षेत्रअन्तर्गत पर्दछन् । २०४८ सालदेखि हालसम्म भएका संसदीय निर्वाचनमा यस क्षेत्रबाट नेवाः समुदायका महर्जन उम्मेदवारले निर्वाचन जित्दै आएका छन् ।

हरेक पटक जित्ने उम्मेदवार ‘कोर’ पाटनका रहेका छन् ।नेवा समूहमा विरासत जोगाउनुपर्ने कि विकल्प रोज्नुपर्ने भन्ने बहसले ललितपुर क्षेत्र नं २ को चुनावी माहोललाई रोचक बनाएको छ । प्रत्येक निर्वाचनमा विजयी उम्मेदवार कोर पाटनकै भएको इतिहासले यस क्षेत्रलाई नेवाः राजनीतिक विरासतको प्रतीकका रूपमा स्थापित गरेको छ । तर, यसपटकको निर्वाचन अघिल्ला चुनावभन्दा फरक देखिएको छ ।

ललितपुर क्षेत्र नं २ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्, त्यसमध्येममा ७ जना स्वतन्त्र रहेका छन् भने १६ जना विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा दुई जना महिला उम्मेदवार छन् ।

महानगरपालिकाको भित्री बस्तीबाट नेपाली कांग्रेसबाट प्रेमकृष्ण महर्जन, नेकपा (एमाले) बाट प्रेमबहादुर महर्जन, नेपाली कम्युनिस्ट पार्टीबाट राजेन्द्र अमात्य, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदीश खरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रघुवरराज थापा, नेपाल मजदुर किसान पार्टी चिरिमैया महर्जन र मंगोल नेसनल पार्टीबाट कृष्ण महर्जनले उम्मेदवारी दिनुभएको छ । त्यसै गरी उज्यालो नेपालबाट अभियन्ता राजाराम तण्डुकार, नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट अष्टराज वज्राचार्यले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्ण महर्जन र नेसनल पब्लिक नेपालबाट खेमप्रसाद श्रेष्ठ रहनुभएको छ । स्वतन्त्र उम्मेदवारीहरूमा बाबुराजा वज्राचार्य, मंगलकृष्ण श्रेष्ठ, ओमराज वज्राचार्य, उमंग केसी, रविराज पौडेल, रवीन्द्र अमात्यलगायत उम्मेदवारहरू रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खरेल गैरनेवाको उम्मेदवार हुनुका साथै टुरिस्ट उम्मेदवारको आरोप खेप्नुपरे पनि नेवाहरूको मत विभाजित हुँदा उहाँलाई चिट्ठा पर्छ कि भन्ने चर्चा चल्न थालेको छ । यद्यपि, रास्वपाले स्थानीय उम्मेदवार नदिएको भन्दै ललितपुरमा रास्वपाबाट केही असन्तुष्टि देखिएकाले खरेललाई सहज भने छैन । खरेल दोलखा निवासी हुनुहुन्छ । यस्तै, अन्य स्वतन्त्र उम्मेदवार तथा उज्यालो नेपाल पार्टीका समेत सशक्त उम्मेदवार रहेका छन् ।

ललितपुर क्षेत्र नम्बर २ मा ४३ हजार २ सय ९८ महिला र ४५ हजार ७ सय ८४ पुरुष गरी जम्मा ८९ हजार ८२ मतदाता रहेका छन् । २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा १९ हजार ७ सय ३४ मत ल्याई नेकपा (एमाले) का प्रेमबहादुर महर्जन विजयी हुनुभएको थियो । अहिले सोही पार्टीबाट उहाँले नै उम्मेदवारी दिनुभएको छ ।

यस क्षेत्रमा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बाहेक कम्युनिस्ट पार्टीका उम्मेदवार त्यसमाथि नेकपा (एमाले) ले जित्दै आएको छ । २०७० सालमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र महर्जन र २०६४ सालमा तत्कालीन नेकपा माओवादी पार्टीबाट हाल ललितपुर क्षेत्र नं ३ का उम्मेदवार राजकाजी महर्जन निर्वाचित हुनुभएको थियो ।

पुराना दलप्रति बढ्दो वितृष्णा, सुशासन र प्रभावकारी प्रतिनिधित्वको माग तथा राष्ट्रिय स्वतन्त्र पार्टीसहित नयाँ राजनीतिक शक्तिको उपस्थितिले मतदाताहरूमा अनेक बहसहरू चलिरहेको छ । धेरै नेवाः उम्मेदवारबीच मत विभाजन हुने सम्भावनाले नयाँ राजनीतिक शक्तिलाई लाभ पुग्न सक्ने आँकलन पनि गर्न थालिएको छ । ८९ हजारभन्दा बढी मतदाता रहेको यस क्षेत्रमा परम्परागत रूपमा दल र समुदायलाई हेरेर मतदान गर्ने प्रवृत्ति रहे पनि यसपटक युवा तथा तटस्थ मतदाताको भूमिका निर्णायक बन्ने देखिन्छ ।

यसपटक नेवाः समुदायभित्र नै मत एकढिक्का देखिँदैन । एकथरी मतदाताहरूले दशकौंदेखिको राजनीतिक विरासत जोगाउनुपर्ने तर्क अघि सारिरहेका छन् भने अर्कोतर्फ उही समुदायका उम्मेदवारहरूले अपेक्षाअनुसार संसद्मा भूमिका निर्वाह गर्न नसकेको असन्तुष्टि पनि बलियो देखिन्छ ।

काठमाडौं उपत्यकामा दलहरूले नेवाः समुदायका व्यक्तिलाई उम्मेदवार नबनाउने क्रम बढ्दै गएको स्थितिमा क्षेत्र नं २ को विरासत जोगाउनुपर्ने पक्षमा जाति, भाषा र संस्कृति क्षेत्रमा लाग्नेहरूको मत रहेको छ । स्थानीयले नयाँलाई छान्नै परे विकल्पका रूपमा उज्यालो नेपालका उम्मेदवार राजाराम तण्डुकार उपयुक्त हुने जनमत बनाउँदै आएका छन् । तण्डुकारको सामाजिक पृष्ठभूमि र अनेकौं एजेन्डा सम्बोधन गर्न लागिपरेका हिसाबले तण्डुकार पनि एउटा विकल्पका रूपमा हेरिएको छ ।
अहिले पुरानाले गर्न सकेनन् भन्ने हो भने विकल्पका रूपमा उज्यालो नेपालका तण्डुकारको पक्षमै जानुपर्ने नेवाः देय् दबू ललितपुर नगरका पूर्वअध्यक्ष रवीन्द्र शाक्यको तर्क रहेको छ ।

नेपाली कांग्रेस र एमालेले संगठनात्मक संरचना, पुरानो आधार र अनुभवी उम्मेदवारलाई बलियो पक्षका रूपमा अघि सारेका छन् । तर, कुशासन, भ्रष्टाचार र जनअपेक्षा पूरा गर्न नसकेको आरोपले यी दलप्रति विश्वास कमजोर बनेको छ । उम्मेदवार आबद्ध राजनीतिक दलका नेता र कार्यकर्ताले आफूहरूले चुनाव जित्ने दाबी गदैै आएका छन् । तर, आम मतदाताका सामुन्ने तिनका दाबीउपर अनेक प्रश्न तेस्याईरहेका छन् ।

तर, नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनको भद्र र मिलनसार स्वभावप्रति एकथरी मतदाता नतमस्तक रहेका छन् । नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जन २०५४ सालको स्थानीय निकायको उपमेयर र २०७४ सालको वागमती प्रदेशसभा सदस्यको निर्वाचनमा हारेका कारण उहाँप्रति सहानुभूति राख्नेहरू पनि कमी छैनन् । कम्युनिस्टको गढका रूपमा अझै पहिचान रहेको यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्य पनि चुनावी अभियानमा सक्रिय देखिनुभएको छ ।

अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्यमा उठेर उल्लेखनीय मत ल्याएका मगंलकृष्ण श्रेष्ठ, एमालेकै बाबुराजा वज्राचार्यको स्वतन्त्र उम्मेदवारी र कम्युनिस्ट पार्टीका अष्टराज वज्राचार्यले उम्मेदवारीले दिनुभएको छ । जातीय हक हितका लागि वास्ता नगर्ने कांग्रेस र एमालेले सामूहिक भोटका लागि जातीयलाई औजार बनाउँदै नेवाः भित्र महर्जनलाई मात्र उम्मेदवारी बनाउने गरेकोमा नेवाः भित्र पनि असन्तुष्टि रहेको पाइएको छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी तथा उज्यालो नेपालजस्ता नयाँ राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारीको लहरले सुशासन, जवाफदेहिता र वैकल्पिक राजनीतिको नारा दिएर विशेषतः युवा र तटस्थ मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । तर, रास्वपाबाट स्थानीय उम्मेदवार दिएको भए अझ बेस हुने थियो भन्ने धारणा पनि स्वयं रास्वपाका कार्यकर्ताहरू रहेको छ । यसले यस क्षेत्रको चुनावलाई परम्परागत दलीय प्रतिस्पर्धाभन्दा फरक बनाइदिएको छ ।

समग्रमा ललितपुर क्षेत्र नं २ को चुनाव परिणाम परम्परा दोहोरिने कि नयाँ राजनीतिक प्रयोग सुरु हुने भन्ने निर्णायक मोडमा पुगेको छ । मतदाताले विरासतलाई प्राथमिकता दिन्छन् कि नयाँलाई भन्ने कुराको छिनोफानो यही फागुन २१ गते हुने मतदानले गर्नेछ । अहिले उम्मेदवारहरू विभिन्न धार्मिक पूजा, संस्कृति परम्परागत कार्यमा हुने कार्यमा सहभागी भई आम मतदातासँगको भेटघाटलाई तीव्र बनाउँदै आएका छन् ।