काठमाडौं।
वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष राजीनामा बुझाएका हुन्।
यसअघि गत १९ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ ले विभिन्न निकायमा नियुक्त १५९४ जना पदाधिकारीलाई पदमुक्त गरेको थियो। उक्त निर्णयबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति लगायत पदाधिकारी र सदस्यहरू पदमुक्त भएका थिए, तर वीर अस्पतालका निर्देशक भने त्यसबाट प्रभावित भएका थिएनन्।
डा. शर्माले आफ्नो राजीनामा स्वेच्छिक भएको स्पष्ट पार्दै भने, “बाध्यकारी अवस्था त थिएन, तर नयाँ सरकारलाई आफ्नो हिसाबले काम गर्ने वातावरण बनोस् भनेर मार्ग प्रशस्त गरेको हुँ। मैले हिजो नै मन्त्री समक्ष राजीनामा दिइसकेको छु।”
डा. शर्मा २७ फागुन २०८१ मा तत्कालीन उपकुलपति भुपेन्द्रकुमार बस्नेतको सिफारिसमा तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलद्वारा निर्देशक पदमा नियुक्त भएका थिए। उनको कार्यकाल दुई वर्षका लागि तोकिएको थियो।











प्रतिक्रिया