कसको पोल्टामा जाला चारतारा र रुख ?


काठमाडौँ ।

नेपाली कांग्रेसको आधिकारिकता र १५औँ महाधिवेशनको विषयलाई लिएर देउवा र गगन थापा पक्षका नेताहरूबीच आरोप–प्रत्यारोप चर्किएको छ । देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्वको कांग्रेस नै आधिकारिक भएको दाबी गरेको छ भने पार्टीको इतिहास, विचार र विरासत आफ्नो पक्षमा रहेको जिकिर गरेको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको नेतृत्वमा रहेको कांग्रेस नै आधिकारिक भएको बताउनुभएको छ । शुक्रबार रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले आधिकारिक पार्टी भएकै कारण आफूहरूले १५औँ महाधिवेशन गर्न लागेको बताउनुभयो ।

उहाँले २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले नेपालको अर्थतन्त्र र बहुदलीय संसदीय राजनीतिको जग बसाएको दाबी गर्नुभयो । त्यतिबेला गाउँगाउँमा सडक, बिजुली, शिक्षा र स्वास्थ्यको आधार तयार पार्नुका साथै विश्वविद्यालय र एयरलाइन्सको संख्या बढाइएको उहाँको भनाइ थियो ।

कांग्रेसले आफ्ना कामको प्रचार गर्न नसक्दा पछिल्लो ३५ वर्षमा केही नभएको भाष्य निर्माण भएको उल्लेख गर्दै उहाँले पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात् गरेर सबैलाई समेट्न सके कांग्रेस बलियो हुने बताउनुभयो । महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसैगरी, देउवा पक्षीय नेता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रियामा सहभागी नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । शुक्रबार सप्तरी जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले इतिहास, विचार र विरासत बोकेका नेताहरूलाई पन्छाएर स्वघोषणाका आधारमा आधिकारिकताको दाबी गर्न नसकिने बताउनुभयो ।

कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत आफूहरूसँग रहेको महतको दाबी छ । १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि आफ्नो पक्षमा रहेको उल्लेख गर्दै उहाँले यही समूह आधिकारिक कांग्रेस भएको जिकिर गर्नुभयो । विधि र विधानले नचिनेको प्रक्रियाबाट बनेको नेतृत्वलाई आधिकारिक मान्न नसकिने बताउँदै महतले पार्टीको विचार र सिद्धान्तमा प्रतिबद्ध नेता–कार्यकर्तालाई कारबाही तथा सेवा–सुविधा कटौतीको डरबाट विचलित नहुन आग्रह गर्नुभयो ।

यसैबीच, देउवा पक्षले मंसिर २१, २२ र २३ गते हुने १५औँ केन्द्रीय महाधिवेशनका लागि पाँच उपसमितिका संयोजक तोकेको छ । मंसिर ९ गतेको तयारी समिति बैठकको निर्णयअनुसार प्रचार–प्रसार समितिमा डा. प्रकाशशरण महत, अतिथि सत्कार तथा समन्वयमा एनपी साउद र प्रशासन समन्वय तथा स्वयंसेवक परिचालनमा मोहनबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, सांस्कृतिक समितिको संयोजकमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्की मनोनीत भएका छन् । सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।

देउवाको महाधिवेशनमाथि कानुनी प्रश्न
नेपाली कांग्रेसको आधिकारिकता विवादले नयाँ मोड लिएको छ । गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिई १५औँ नियमित महाधिवेशनबाट निर्वाचित समिति अद्यावधिक गरिसकेको अवस्थामा शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ ।

कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चारवर्षे कार्यकाल २०८२ मंसिर २३ मा सकिए पनि नियमित महाधिवेशन हुन सकेन । त्यसपछि २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन माग गर्दै निवेदन दिएका थिए । केन्द्रीय कार्यसमितिले महाधिवेशन नबोलाएपछि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्नुभएको थियो ।

२०८२ पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्विरोध निर्वाचित हुनुभयो । निर्वाचन आयोगले माघ २ गते उहाँको नेतृत्वलाई आधिकारिकता दियो । उक्त निर्णयलाई चुनौती दिँदै देउवा र पूर्णबहादुर खड्का सर्वोच्च पुगे पनि २०८३ वैशाख ४ गते अदालतले रिट खारेज गरिदिएको थियो । तर, देउवा पक्षको पुनरवलोकन निवेदनमा सर्वोच्चले साउन २१ गते निस्सा दिएपछि विवाद पुन: विचाराधीन बनेको छ । पुनरवलोकनको निस्सा पाउँदैमा अघिल्लो फैसला बदर हुँदैन । अन्तिम फैसला नआएसम्म आयोगको अभिलेखमा थापा नेतृत्व नै आधिकारिक छ ।

देउवा पक्षले महाधिवेशन गर्न पाउने भए पनि त्यसलाई निर्वाचन आयोगले मान्यता दिने विषय अनिश्चित छ । आयोगले अस्वीकार गरे पुन: सर्वोच्च पुग्नुपर्ने अवस्था आउन सक्छ । समानान्तर महाधिवेशनमा सहभागी जनप्रतिनिधिमाथि अनुशासनको कारबाहीसमेत हुन सक्ने कानुनी जोखिम छ । अन्तत: कांग्रेसको आधिकारिकताको टुंगो सर्वोच्च अदालतको पूर्ण इजलासको अन्तिम फैसलाले नै लगाउनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।