हिसानको ३०औँ स्थापना दिवस भव्य रूपमा मनाइँदै, १० हजार विद्यार्थीलाई स्टार्टअपमा जोड्ने लक्ष्य


काठमाडौं ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आफ्नो स्थापनाको ३०औँ वर्ष विभिन्न शैक्षिक, सामाजिक तथा रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने भएको छ। ‘शिक्षाका लागि एकता, राष्ट्रनिर्माणमा प्रतिबद्धता’ भन्ने नारासहित हिसानले स्थापना दिवसलाई विशेष उत्सवका रूपमा मनाउन लागेको हो।

२०५३ साल मंसिर ११ गते स्थापना भएको हिसानले आफ्नो ३०औँ स्थापना दिवसका अवसरमा मंसिर ९ र १० गते विभिन्न प्रदेश तथा जिल्ला तहमा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। त्यस्तै, मंसिर ११ गते काठमाडौंमा केन्द्रीय स्थापना दिवस समारोह आयोजना गरिनेछ।

स्थापना दिवसको अवसरमा विद्यार्थी, शिक्षक, शिक्षिका, प्राचार्य तथा शिक्षालय सञ्चालकहरूको सहभागितामा दौड प्रतियोगिता आयोजना गरिनेछ। मंसिर ११ गते बिहान ७ बजे हुने प्रतियोगिताका विजेतालाई शिल्ड, प्रमाणपत्र, मेडल तथा नगद पुरस्कार प्रदान गरिने हिसानले जनाएको छ।

त्यसैगरी, बिहान ९ बजे गौशालास्थित बेस्ट वेस्टर्न प्लस होटलमा विशेष समारोह आयोजना हुनेछ। समारोहमा हिसानका संस्थापक, पूर्वअध्यक्ष तथा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूलाई सम्मान गरिने कार्यक्रम रहेको छ।

कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षाविद्, प्राचार्य, सञ्चालक, शिक्षक तथा हिसानका केन्द्रीय, प्रदेश, जिल्ला र पालिका तहका पदाधिकारीहरूको सहभागिता रहनेछ। समारोहमा विद्यालय शिक्षा र उच्च शिक्षासम्बन्धी कार्यपत्र प्रस्तुतिका साथै हिसानको स्मारिका र गीत सार्वजनिक गरिनेछ।

विद्यार्थीलाई स्टार्टअप र नवप्रवर्तनमा जोड्ने लक्ष्य

हिसानले यस वर्षको स्थापना दिवसलाई उद्यमशीलता र नवप्रवर्तनसँग समेत जोडेको छ। Let’s Learn सँगको सहकार्यमा HISSAN National Student Hackathon (Start-up) कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।

उक्त कार्यक्रममार्फत १० हजार युवा विद्यार्थीलाई स्टार्टअप, उद्यमशीलता र नवप्रवर्तनका क्षेत्रमा जोड्ने लक्ष्य राखिएको हिसानले जनाएको छ। विद्यार्थीको सिर्जनशीलता, नयाँ सोच र व्यावहारिक सीपलाई प्रोत्साहन गर्दै शैक्षिक जनशक्तिलाई उद्योग तथा व्यापारसँग जोड्ने उद्देश्य कार्यक्रमको रहेको छ।

निजी शिक्षाको विकास र लगानी सुरक्षामा जोड

हिसानले नेपालको शैक्षिक विकासमा निजी शिक्षालयहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धन, निजी शिक्षामा लगानीको सुरक्षा तथा निजी शिक्षामैत्री ऐन, कानुन निर्माणका लागि निरन्तर पैरवी गर्दै आएको जनाएको छ।

त्यसैगरी शिक्षालय सञ्चालक, प्राचार्य, शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि, शैक्षिक सम्मेलन, शैक्षिक भ्रमण, छात्रवृत्ति, खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई पनि संस्थाले प्राथमिकता दिँदै आएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण, बागमतीलगायत नदीहरूको सफाइ, रक्तदान, प्राकृतिक प्रकोपमा राहत तथा विभिन्न सामाजिक गतिविधिमा समेत हिसानले सहकार्य गर्दै आएको छ।

नेपाललाई गुणस्तरीय शिक्षाको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गरी विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने र नेपाललाई शैक्षिक हब बनाउने लक्ष्यका साथ अघि बढिरहेको हिसानले आगामी दिनमा अझ व्यवस्थित, एकताबद्ध र समयसापेक्ष रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

हिसानका अध्यक्ष युवराज शर्मा र महासचिव रामहरि सिलवालद्वारा जारी प्रेस विज्ञप्तिमा ३०औँ स्थापना दिवसका कार्यक्रम सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरिएको छ। साथै सञ्चारमाध्यमलाई समाचार प्रकाशन तथा प्रसारण गरी सहयोग गरिदिन अनुरोध गरिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।