अल्जाईमर रोगबाट पीडित ७४ वर्षीय एक वृद्ध ब्राजिलको अमेजन वर्षावनमा ११ दिनसम्म हराएपछि जीवितै उद्धार भएका छन्। घना जंगलमा हराएका उनले जंगली फलफूल खाएर, प्राकृतिक स्रोतको पानी पिएर र रुखका पातबाट सुत्ने आश्रयस्थल बनाएर दिन बिताएको खुलेको छ।
ब्राजिलको अमापा राज्यस्थित माकापा क्षेत्रका जानारिनो फेरेइरा दोस सान्तोस नोभेम्बर १० मा परिवारबाट छुट्टिएर जंगलतर्फ गएका थिए। परिवारका सदस्यहरू छिमेकीको घर गएको समयमा उनी घरबाट बाहिरिएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए।उद्धारकर्मीका अनुसार जानारिनोले अमेजनको जंगलमा पाइने बुरिटी नामक ताड प्रजातिको फल खाएर र खोल्सा तथा प्राकृतिक पानीका स्रोतबाट पानी पिएर जीवन बचाएका थिए।
उनले अकाई ताडका पातहरू प्रयोग गरेर सुत्न मिल्ने ओछ्यानजस्तो आश्रयस्थलसमेत बनाएका थिए। जंगलमा भेटिएका पातका ओछ्यानले उद्धार टोलीलाई उनी जीवितै हुन सक्ने संकेत दिएको थियो।
रोचक कुरा के छ भने, उनी युवावस्थामा जंगलमा काम गरिसकेका व्यक्ति थिए। त्यसैले जंगलको वातावरण र त्यहाँ पाइने स्रोतबारे उनलाई केही अनुभव थियो।
उद्धारकर्मीले जंगलमा भेटिएका पैतालाका छाप पछ्याउँदै खोजी अघि बढाएका थिए। ती छापले उनी एउटै क्षेत्रमा घुमिरहँदा गोलाकार बाटोमा हिँडेको संकेत गरेका थिए।खोजीका क्रममा दुईवटा पातबाट बनाइएका अस्थायी ओछ्यान भेटिए। एउटा चार दिन पुरानो र अर्को भर्खरै बनाइएको जस्तो देखिएको उद्धारकर्मीले बताएका छन्।त्यसपछि खोजी टोलीले उनी नजिकै हुन सक्ने अनुमान गरेको थियो।नोभेम्बर २० मा जंगलको घना भागमा उनलाई फेला पारिएको थियो। उद्धारका बेला उनी खाली खुट्टा र भित्री वस्त्र मात्र लगाएको अवस्थामा भेटिएका थिए।उनी अत्यन्त कमजोर र तिर्खाएका थिए। उद्धारकर्मीका अनुसार त्यसबेला उनी बोल्न र हिँड्नसमेत सकिरहेका थिएनन्।
घना वनस्पति, पानी जमेको क्षेत्र र दलदलका कारण उनलाई जंगलबाट बाहिर निकाल्न पनि कठिन भएको थियो। उद्धारकर्मीले काठ र डोरीको सहायताले अस्थायी स्ट्रेचर बनाएर उनलाई सुरक्षित स्थानसम्म पुर्याएका थिए।उद्धारपछि उनलाई ब्राजिलको माकापास्थित अस्पताल लगिएको थियो। समाचारअनुसार उनको खुट्टामा काँडा गाडिएको, शरीरमा चोटपटक लागेको र छाला सुक्खा भएको थियो। परिवारकी नातिनीका अनुसार उनलाई पिसाबसम्बन्धी संक्रमणको उपचारसमेत भइरहेको छ।उनकी नातिनी सारा मोन्टेसले खोजी अभियान जारी राख्न सामाजिक सञ्जालमार्फत अपिल गरेकी थिइन्। नौ दिनसम्म कुनै खबर नआएपछि उनले हजुरबुवाको खोजी बन्द नगरिदिन आग्रह गरेकी थिइन्।उद्धारमा संलग्न पार्क रेन्जर एनियल कार्डोसोले वृद्धलाई जीवितै फेला पार्न सफल भएको घटनालाई निकै सन्तोषजनक बताएका छन्।
स्रोत : एपी








तपाईंको विचार लेख्नुहोस्