छठ पर्वले सद्भाव र एकताको सन्देश दिन्छ: सभापति थापा


काठमाडौँ।

नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने बताउनुभएको छ ।

शुभकामना सन्देशमार्फत सभापति थापाले छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्नुभएको छ । ऋग्वेदमा उषा देवीको स्तुति गरिएको प्रसंग स्मरण गर्दै उहाँले प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको प्राचीन आध्यात्मिक भाव छठ पर्वमा समेत प्रतिबिम्बित हुने बताउनुभएको छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिको सम्मान र जीवनप्रतिको कृतज्ञता सिकाउने उहाँको भनाइ छ ।

थापाले छठ पर्वले समाजमा आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गर्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै, छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस् भन्दै उहाँले पर्वको शुभकामना दिनुभएको छ ।