–कार्तिक नाच १२ दिनमा सीमित
ललितपुर।
मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ३ सय ८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच संरक्षणका चुनौती बीच यस वर्ष १२ दिनसम्म प्रदर्शन हुने भएको छ ।
कुनै समय तिहारका तीन दिनबाहेक एक महिनासम्म अर्थात् २७ दिन प्रदर्शन हुने यो नाच अहिले १२ दिनमा सीमित छ । पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा गत शुक्रबार सो नाच सुरु भएको छ । आगामी मंसिर ८ गतेसम्म प्रत्येक दिन साँझ ७ बजे नाच प्रदर्शन गरिने कार्तिक नाच संरक्षण समितिका प्रचारप्रसार संयोजक सञ्जयशर्मा राजोपाध्यायले जानकारी दिनुभयो । संयोजक राजोपाध्यायका अनुसार यस अवधिमा विभिन्न धार्मिक लीला, भगवान् विष्णुका अवतार, पौराणिक आख्यान तथा सामाजिक विषयवस्तुमा आधारित १२ वटा नाच प्रस्तुत गरिनेछन् ।
नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याण तथा स्थानीय बासिन्दालाई भय र त्रासबाट मुक्त गर्ने धार्मिक तथा सांस्कृतिक उद्देश्यले कार्तिक नाच सुरु गराएको इतिहास छ । पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर निर्माणसँगै सुरु भएको यस नाचको प्रारम्भिक स्वरूप कृष्णचरित्रमा आधारित थियो । नाट्याचार्य पण्डित हरिवंश उपाध्यायको रचना तथा निर्देशनमा सुरु भएको नाच प्रारम्भमा पाँच दिनसम्म प्रदर्शन गर्ने परम्परा रहेको थियो ।
राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले सुदामा प्याखँ, सुरदास प्याखँ र बाथः प्याखँ थपेर नाचलाई १५ दिनसम्म विस्तार गर्नुभएको थियो । त्यसपछि राजा योगनरेन्द्र मल्लको पालामा तिहारका तीन दिनबाहेक एक महिनासम्म अर्थात् २७ दिन प्रदर्शन गर्ने परम्परा विकास भएको थियो । आर्थिक स्रोतको अभाव र संरक्षणका चुनौतीसँगै यसको प्रदर्शन अवधि क्रमशः खुम्चिँदै आएको समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।
वि.सं २००७ सालको राजनीतिक परिवर्तनपछि २७ दिनसम्म सञ्चालन हुँदै आएको नाच विसं २००८ देखि २०३७ सम्म दुई दिनमा सीमित भएको थियो । त्यस अवधिमा मुख्यतः वराह र नृसिंह अवतार प्रदर्शन गरिन्थ्यो । कार्तिक नाच प्रबन्ध समिति गठन भएपछि विसं २०३८ देखि २०६० सम्म आठ दिन प्रदर्शन हुन थाल्यो । विसं २०७० मा वस्त्रहरण र बौद्धलीला थपेर १० दिन पु¥याइएको थियो भने २०७१ देखि २०७६ सम्म १२ दिन सञ्चालन गरिएको थियो । भूकम्प गएको वर्ष २०७२ सालमा चार दिन, कोभिड महामारीका कारण विसं २०७७ मा भने दुई दिन मात्रै प्रदर्शन भएको थियो ।
नेपाल भाषामा ‘कात्ति प्याखँ’ भनिने यस नाचमा गीत, संगीत, नृत्य, अभिनय र संवादको विशिष्ट संयोजन पाइन्छ । भगवान् विष्णुका विभिन्न अवतार, कृष्णलीला, धार्मिक आख्यान, लोककथा तथा पौराणिक कथामा आधारित नाचले मनोरञ्जनसँगै तत्कालीन समाजको सामाजिक, आर्थिक, सांस्कृतिक, नैतिक र राजनीतिक अवस्थासमेत चित्रण गर्छ । विशेषतः बाथः प्याखँ अन्तर्गतका लोकनाटकले सामाजिक विकृति, अज्ञानता, स्वार्थ, कुतर्क र टाठाबाठाबाट सोझासाझामाथि हुने शोषणलाई हास्यव्यंग्यका माध्यमबाट प्रस्तुत गर्दै आएका छन् ।
यसको संरक्षणमा आर्थिक स्रोतको अभावसँगै कलाकारको पलायन र पुस्तान्तरणको चुनौती थपिएको अध्यक्ष चित्रकारको कथन छ । नाचका विभिन्न विधा र पात्रलाई जीवन्त राख्न विशेष सीप, लामो अभ्यास र निरन्तर प्रशिक्षण आवश्यक भए पनि कलाकारलाई उचित पारिश्रमिक दिन नसकिएको अध्यक्ष चित्रकारले बताउनुभयो । ‘नयाँ पुस्तामा नेपाल भाषाको ज्ञान र प्रयोग कमजोर हुँदै जाँदा नाचका संवाद, अभिनय र मौलिक शैलीलाई निरन्तरता दिनसमेत कठिनाइ भइरहेको छ । सरकारी सहयोग पर्याप्त नहुँदा ऐतिहासिक सम्पदाको संरक्षण संस्थागत रूपमा चुनौतीपूर्ण बन्दै गएको छ’ –उहाँले भन्नुभयो ।
कार्तिक नाचको निरन्तरताका लागि ललितपुर महानगरपालिकाले विसं २०७७ मा ५० लाख र २०७८ मा थप ५० लाख गरी एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको थियो । त्यस्तै, वि.सं २०७८ मा ललितपुर महानगरपालिका–१६ वडा कार्यालयले थप १० लाख र गएको वर्ष वडा नं ११ ले थप ९ लाख रुपैयाँको अर्को अक्षयकोषसमेत स्थापना गरिएको थियो । यस वर्षको नाच सञ्चालनका लागि ललितपुर महानगरपालिका वडा नं. १६ ले १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । तर अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याज आम्दानी नाच सञ्चालनका लागि पर्याप्त हुन सकेको छैन । ब्याजदर घट्दै जानु र कलाकारको पारिश्रमिक, वेशभूषा, बाजागाजा, प्रशिक्षण, मञ्च व्यवस्थापन तथा नियमित अभ्यासको खर्च बढ्दै जानुले संरक्षणको दीर्घकालीन योजना प्रभावित भएको छ ।
समितिले अक्षयकोष व्यवस्थापनसँगै कलाकारको व्यावसायिक विकास, नयाँ पुस्तालाई नेपाल भाषा तथा नाट्य विधामा दक्ष बनाउने प्रशिक्षण र सरकारी तथा निजी क्षेत्रको सहयोग विस्तार गर्ने योजना पनि अघि सारेको छ । नाचलाई अहिलेको १२ दिनमा सीमित नराखी ऐतिहासिक परम्पराअनुसार पुनः २७ दिनसम्म सञ्चालन गर्न सक्ने वातावरण बनाउनु आवश्यक रहेको समितिका अध्यक्ष चित्रकारले बताउनुभयो ।
यस वर्षको कार्यक्रमअनुसार कात्तिक २७ गते भक्त सुरदास प्याखँबाट नाच सुरु भएको थियो । त्यसपछि माधवानर लीला, बाथः प्याखँ, जलशयण अर्थात् मधु–कैटभ वध, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला हुँदै मंसिर ८ गते दधि लीलासँगै समापन हुनेछ ।











प्रतिक्रिया