काठमाडौँ।
नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलवार काठमाडौँ आइपुग्नुभएको छ । नेपाल–भारत सम्बन्धका विभिन्न आयाममा लामो समय काम गरेको अनुभव भएका वरिष्ठ भारतीय कूटनीतिज्ञ दलेलाको आगमनलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
भारत सरकारले गत अक्टोबर १६ मा दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो । उहाँले यसअघि काठमाडौँस्थित भारतीय राजदूतका रूपमा कार्यरत नवीन श्रीवास्तवको स्थान लिनुभएको हो ।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गर्नु भएका दलेला दक्षिण एसियाली मामिला, आर्थिक कूटनीति, अन्तर्राष्ट्रिय व्यापार र क्षेत्रीय सम्बन्धका अनुभवी कूटनीतिज्ञ मानिनुहुन्छ । उहाँले आफ्नो कूटनीतिक यात्रा इजरायलको तेल अभिभस्थित भारतीय नियोगबाट सुरु गर्नुभएको थियो ।
त्यसपछि उहाँले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हानुभएको छ । दलेलाको सबैभन्दा महत्वपूर्ण अनुभवमध्ये एक नेपाल र भुटानसँग सम्बन्धित मामिलामा भारतको विदेश मन्त्रालयभित्र रहेर काम गर्नु हो । उहाँले सन् २००६ देखि २००७ सम्म विदेश मन्त्रालयको उत्तरी महाशाखामा निर्देशकका रूपमा काम गर्नु भएको थियो । त्यसपछि सन् २०१६ देखि २०१९ सम्म सोही महाशाखाको संयुक्त सचिवको जिम्मेवारी सम्हानु भएको थियो ।
भारतको विदेश मन्त्रालयको उत्तरी महाशाखाले मुख्य रूपमा नेपाल र भुटानसँगको सम्बन्ध हेर्ने गर्छ । त्यसैले दलेला नेपालका राजनीतिक, कूटनीतिक तथा आर्थिक विषयसँग पहिले नै परिचित अधिकारी हुनुहुन्छ ।
व्यापार तथा आर्थिक नीतिमा समेत दलेलाको विशेष अनुभव छ । उहाँले भारतको वाणिज्य मन्त्रालयअन्तर्गत व्यापार नीतिसम्बन्धी निर्देशकका रूपमा काम गर्नु भएको थियो । विश्व व्यापार संगठन (डब्लूटीओ) मा भारतको स्थायी नियोगमा दुईपटक जिम्मेवारी सम्हानुभएका उहाँले सन् २०१४ देखि २०१६ सम्म भारतको उपस्थायी प्रतिनिधिका रूपमा समेत काम गर्नुभएको थियो ।
यसअघि सन् २०२२ देखि २०२५ सम्म उहाँ भुटानका लागि भारतीय राजदूतको रूपमा कार्यरत रहनुभएको थियो । भुटानमा तीन वर्ष राजदूतको जिम्मेवारी पूरा गरेपछि सन् २०२५ सेप्टेम्बर १ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत रहनुभएको थियो ।
दलेला यस्तो समयमा नेपाल आउनुभएको छ जतिबेला नेपाल र भारतबीच उच्चस्तरीय राजनीतिक भेटवार्ताको तयारी भइरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणलाई लक्षित गर्दै दुवै देशले कूटनीतिक तहमा छलफल अघि बढाइरहेका छन् ।
भारतीय विदेश सचिव विक्रम मिश्रीको बुधवारदेखि दुईदिने नेपाल भ्रमण हुन लागेको छ । उहाँको भ्रमणलाई प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारी र दुई देशबीचका प्राथमिकताबारे छलफल गर्ने अवसरका रूपमा हेरिएको छ ।











प्रतिक्रिया