एनपीएलको स्वास्थ्य साझेदार बन्यो आर्य फार्माल्याब, क्यानसँग तीनवर्षे सम्झौता


काठमाडौं ।

औषधि उत्पादक कम्पनी आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ। स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले उक्त सहकार्य सुरु गरेको हो।

कम्पनीका अनुसार यस सहकार्यको मुख्य उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउनु हो।

सहकार्यअन्तर्गत एनपीएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गरिने कम्पनीले जनाएको छ। यस्ता गतिविधिमार्फत खेल हेर्न आउने दर्शकलाई स्वास्थ्यप्रति सचेत गराउने लक्ष्य राखिएको छ।

आर्य फार्माल्याबले खेलाडीको उत्कृष्ट प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ पनि प्रदान गर्ने भएको छ। यसअन्तर्गत प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ।

त्यस्तै, प्रत्येक खेलमा एक जना दर्शकलाई ‘हटविट मुमेन्ट अफ द म्याच’ अन्तर्गत २० हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ। यी कार्यक्रमले खेलाडीको योगदानको कदर गर्नुका साथै दर्शकको सहभागिता र उत्साह बढाउने अपेक्षा गरिएको छ।

स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा सुरु गरिएको यस सहकार्यलाई कम्पनीले आफ्नो यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। लोकप्रिय खेल क्रिकेटको माध्यमबाट धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्‍याउन सकिने विश्वास कम्पनीले व्यक्त गरेको छ।