माओसम्बन्धी टिप्पणीमा एम्बाप्पेको माफी, चीनका तीन ठूला ब्रान्डले तोडे सम्बन्ध


काठमाडौं ।

फ्रान्स तथा स्पेनिस क्लब रियल मड्रिडका स्टार फुटबलर किलियन एम्बाप्पेले चीनका पूर्वनेता माओत्से तुङसँग जोडिएको इन्टरनेट मिमबारे गरेको टिप्पणीका कारण उत्पन्न विवादमा सार्वजनिक रूपमा माफी मागेका छन्। विवाद चर्किएपछि चीनका तीन प्रमुख कम्पनीले उनीसँगको व्यावसायिक सहकार्य अन्त्य गरेका छन्। एम्बाप्पेले आफ्नो टिप्पणीले चीन तथा विश्वभर रहेका चिनियाँ समुदायका मानिसको भावनामा चोट पुगेको स्वीकार गर्दै दुःख व्यक्त गरेका हुन्। उनले आफूले कसैलाई अपमान गर्ने उद्देश्य नराखेको र चिनियाँ जनता तथा उनीहरूको इतिहासप्रति गहिरो सम्मान रहेको बताएका छन्।

फ्रेन्च टक शो ‘द ब्रिज’ का लागि गरिएको कुराकानीका क्रममा एम्बाप्पेले आफूलाई रमाइलो लाग्ने इन्टरनेट मिमबारे चर्चा गरेका थिए। त्यसक्रममा उनले आफ्नो अनुहार माओत्से तुङको तस्बिरमा जोडिएको मिमलाई ‘चिनियाँ तानाशाह’सँग सम्बन्धित भन्दै उल्लेख गरेको भिडियो सार्वजनिक भएपछि विवाद सुरु भएको थियो। यद्यपि, उक्त भिडियोको प्रामाणिकता स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको समाचार संस्था एएफपीले जनाएको छ। विवादपछि ऊर्जा पेय उत्पादक डोङपेङ, चीनको प्रमुख दुग्ध उत्पादक कम्पनी मेङ्निउ र चिज उत्पादक मिल्कग्राउन्डले एम्बाप्पेसँगको सहकार्य अन्त्य गर्ने घोषणा गरेका छन्।

यसअघि चीनमा व्यापक विज्ञापनमा देखिने एम्बाप्पेका लागि यो ठूलो व्यावसायिक धक्का मानिएको छ। चीनको विदेश मन्त्रालयले समेत घटनाबारे प्रतिक्रिया दिँदै चिनियाँ जनताको भावनामा चोट पुर्‍याउने अभिव्यक्ति र व्यवहारको विभिन्न क्षेत्रबाट विरोध हुने जनाएको छ। चिनियाँ सामाजिक सञ्जाल रेडनोटले एम्बाप्पेसँग सम्बन्धित प्रचार सामग्री हटाउने र उनको खातामा नयाँ फलोअर थप्न रोक लगाउने कदम चालेको पनि समाचारमा उल्लेख छ।

स्पेनिस ला लिगाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता विवादबाट बच्न सम्बन्धित पक्षसँग सञ्चार र समन्वयका प्रक्रिया सुधार गर्ने जनाएको छ। माओत्से तुङ आधुनिक चीनका संस्थापक नेतामध्ये एक मानिन्छन्। तर उनका शासनकालका नीतिहरू, विशेषगरी ‘ग्रेट लिप फरवार्ड’ अभियानसँग जोडिएको भीषण भोकमरी र ठूलो मानवीय क्षतिका कारण उनको ऐतिहासिक विरासत विवादास्पद पनि छ। चीनमा माओसम्बन्धी व्यङ्ग्यात्मक टिप्पणी राजनीतिक तथा राष्ट्रिय भावनासँग जोडिने भएकाले संवेदनशील मानिन्छ।