काठमाडौँ।
सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह तेलीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर तेली, उपमेयर रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडयाल, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादव लगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुमाथि ठेक्कासम्बन्धी विवाद मिलाउने क्रममा व्यक्तिलाई रकम दिई हिनामिना गरेको, सम्झौता नगरी अग्रिम राजस्व असुल गरेको तथा बाँकी राजस्व रकम हिनामिना गरेको लगायतका आरोप छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वडा नम्बर ६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजार सञ्चालनबापत राजस्व संकलन गर्ने प्रयोजनका लागि ठेकेदार वीरेन्द्र कुमार यादवलाई अमानतमा जिम्मेवारी दिइएको थियो । तर, नगर कार्यपालिकाको निर्णय र प्रचलित कानुनी व्यवस्थाविपरीत राजस्वमा छुट दिइएको तथा राजस्व संकलनमा अनियमितता भएको आयोगको ठहर छ ।
नगर कार्यपालिकाको निर्णयअनुसार नगरसभाबाट मात्र दिन मिल्ने कर छुटको अधिकार प्रयोग गरी ७३ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिने निर्णय गरिएको आयोगले जनाएको छ । त्यस्तै, अमानतमा संकलन गर्नुपर्ने राजस्व रकम ठेकेदारलाई दिइएको र त्यसबाट सरकारी रकम हिनामिना भएको आरोपपत्रमा उल्लेख छ ।
आयोगका अनुसार, ठेकेदार यादवबाट असुल गर्नुपर्ने रकमसमेत असुल नगरी सरकारी सम्पत्तिमा हानि–नोक्सानी पु¥याइएको छ । आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साह तेली, उपप्रमुख रेशमकुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र तत्कालीन राजस्व शाखा प्रमुख दिनेश कुमार सहनीविरुद्ध जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागदाबी गरेको छ ।
त्यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडयालविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो कायम गरिएको छ ।
ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध पनि १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी भ्रष्टाचारबाट प्राप्त लाभ तथा गैरकानुनी कार्यमा संलग्नताको आरोपमा सजायको मागदाबी गरिएको छ ।














प्रतिक्रिया