अस्ट्रेलियाकी सांसद हेलेन हेन्समाथि गाडीले ठक्कर दिएर आक्रमण, अस्पतालमा उपचार जारी


मेलबर्न ।

अस्ट्रेलियाकी स्वतन्त्र सांसद हेलेन हेन्समाथि लक्षित आक्रमण भएको आशंकापछि त्यहाँको राजनीतिक वृत्तमा सुरक्षा चिन्ता बढेको छ। उत्तरी भिक्टोरिया राज्यको वाङ्गाराटामा सोमबार आफ्नै निर्वाचन क्षेत्रको कार्यालयबाहिर कारले ठक्कर दिँदा ६५ वर्षीया सांसद हेन्स घाइते भएकी हुन्। उनको अस्पतालमा उपचार भइरहेको छ।

भिक्टोरिया प्रहरीले दिएको जानकारीअनुसार स्थानीय समयअनुसार सोमबार दिउँसो करिब ३ः३० बजे टोयोटा ल्यान्डक्रुजर गाडीले हेन्सलाई ठक्कर दिएको थियो। घटनाका बेला उनी आफ्नो गाडीको पछाडिको भागबाट सामान निकालिरहेकी थिइन्।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले उक्त गाडी मुख्य सडक हुँदै अघि बढेपछि फर्किएर सांसद हेन्सलाई ठक्कर दिएको बताएका छन्। घटनाको प्रकृतिका आधारमा यो नियोजित आक्रमण हुन सक्ने आशंका गरिएको छ।

हेन्सले अस्ट्रेलियाको संघीय संसद्मा इन्डी निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै आएकी छन्। उनी पछिल्लो सात वर्षदेखि आफ्ना मतदाताको प्रतिनिधित्व गर्दै आएकी लोकप्रिय स्वतन्त्र सांसद हुन्।

घटनाले अस्ट्रेलियाका राजनीतिक दल तथा जनप्रतिनिधिहरूको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। सार्वजनिक जिम्मेवारीमा रहेका जनप्रतिनिधिमाथि हुन सक्ने हिंसात्मक घटनालाई लिएर राजनीतिक वृत्तमा चिन्ता बढेको छ।

घटनाको उद्देश्य, आक्रमणमा संलग्न व्यक्तिको पहिचान तथा प्रहरी अनुसन्धानको पछिल्लो अवस्थाबारे थप आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।