काठमाडौँ।
काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार ३१ गते राति करिब १२ बजे काठमाडौँ महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकखण्डमा दुई युवकबीच विवाद भई झगडा भएको थियो।
झगडामा संलग्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौँको बल्खुमा बस्दै आएका २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल तारकेश्वर नगरपालिका–९, मनमैजुमा बस्दै आएका २० वर्षीय सुवाश तामाङ रहेका छन्।
झगडाका क्रममा सुवाश लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो १:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा अर्जुन ताम्राकारलाई नियन्त्रणमा लिएको छ।
घटनाको कारण तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया