प्रहरी महानिरीक्षक कार्कीद्वारा मौलो पूजा


काठमाडौँ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैँका अवसरमा मंगलबार नक्सालस्थित नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ को मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।

परम्परागत पूजाका क्रममा उनले बलि पूजा गर्नुका साथै निशानमा पञ्जाछाप लगाएका थिए । सो अवसरमा विशेष कार्य गर्ने प्रहरी हवल्दार रामकुमार कार्कीलाई पगरीसहित नगद पुरस्कार र प्रहरी हवल्दार पोषणराज बुढाथोकीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

पूजापछि प्रहरी महानिरीक्षक कार्कीसहित वरिष्ठ प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । पूजा विसर्जनपछि निशानलाई मूलकोत हनुमानढोकाका लागि प्रस्थान गराइएको थियो ।

नेपाल प्रहरीले विक्रम संवत् २०११ सालमा निशान झण्डा प्राप्त गरेदेखि हरेक वर्ष बडादसैँ र चैतेदसैँमा मौलो पूजा गर्दै आएको छ ।

राष्ट्र र नागरिकको शान्ति सुरक्षा तथा सङ्गठनको कार्यसम्पादनमा सफलता प्राप्त होस् भन्ने कामनासहित निशान झण्डाको पूजा गर्ने परम्परा रहेको प्रहरीले जनाएको छ ।