दसैँ मनाउन गाउँ फर्किने बढेपछि काठमाडौंका सडक सुनसान


काठमाडौं ।

बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप घट्दै गएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म ४ लाख २३ हजार ६६४ जना यात्रुले उपत्यका छाडेका छन्।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार असोज २५ देखि ३० गतेसम्म मात्रै ठूलो सङ्ख्यामा यात्रु बाहिरिएका छन्। उक्त अवधिमा सबैभन्दा बढी असोज २९ गते ८५ हजार ५६१ जना यात्रुले उपत्यका छाडेका थिए।दसैँका लागि यात्रु बाहिरिने क्रम बढेसँगै उपत्यकामा सार्वजनिक यातायातको चापसमेत घट्न थालेको छ।

मध्यम तथा लामो दूरीका सवारीसाधनलाई रुट परमिट खुला गरिएपछि स्थानीय रुटमा चल्ने कतिपय सवारीसाधन पनि रिजर्भमा यात्रु लिएर उपत्यकाबाहिर जान थालेका छन्।