एसियाली खेलकुदको महाकुम्भले एसिया महाद्वीपका खेलप्रेमीहरूको ध्यान खिच्दै गर्दा, जापानको आइची–नागोयामा सम्पन्न २०औँ संस्करणको एसियाली खेलकुद २०२६ ले दक्षिण एसियाली खेलकुदको कुरुप वा भनौँ टर्रो यथार्थलाई फेरि एकपटक उदाङ्गो पा¥यो ।
जहाँ दक्षिण एसियाको खेलकुद पावरहाउस भारतले २१ वटा स्वर्णसहित कुल ८५ पदकको ऐतिहासिक भारी बोक्दै पदक तालिकाको चौथो स्थानमा गर्विलो उपस्थिति जनायो र आफ्नो साखलाई अझ बुलन्द बनायो, त्यहीँ बाँकी दक्षिण एसियाली क्षेत्र भने खेलकुदको फराकिलो मैदानमा अस्तित्वको खोजी गर्दै अझै पनि छटपटाउन बाध्य भयो ।
प्रतियोगितामा भारतले क्रिकेट, हक्की र कबड्डी जस्ता परम्परागत खेलहरूमा महिला तथा पुरुष दुवैतर्फ स्वर्ण पदकको वर्षा गराउँदा, एथ्लेटिक्स, सुटिङ, आर्चरी, बक्सिङ र कुस्तीमा पनि आफ्नो बेजोड र अविच्छिन्न प्रभुत्व प्रमाणित गरिदियो । तर, यही छिमेकी महाद्वीपभित्रै रहेका पाकिस्तान, श्रीलंका, नेपाल, माल्दिभ्स, भूटान र बंगलादेशजस्ता देशहरूको पीडादायी कथाले भने सार्क क्षेत्रको खेलकुदको प्रशासनिक सुस्ती, लगानीको खडेरी र संरचनागत असफलतालाई गिज्यायो ।
श्रीलंकाले पुरुष ज्याभलिन थ्रोमा रुमेश पाथिरागेले दिलाएको त्यो एउटा मात्र ऐतिहासिक स्वर्ण र महिला क्रिकेटको रजतमा चित्त बुझाउनु प¥यो भने पाकिस्तानले पनि क्रिकेट र हक्की बाहेक अन्यत्र कुनै उल्लेखनीय प्रभाव पार्न सकेन ।
यस्तो निराशाजनक र मलीन परिदृश्यमा नेपालको कथा पनि फरक रहेन । जहाँ गत संस्करण झैँ यसपटक पनि दुईवटा पदकमा सीमित रहँदै चित्त बुझाउनु पर्ने तीतो बाध्यतालाई स्वीकार्नुको विकल्प भेटिएन । महिला कबड्डीको निरन्तरता र करातेतर्फ तेञ्जिङ शेर्पाले दिलाएको सफलताबाहेक नेपालले एसियाली खेल महाकुम्भमा आफ्नो शारीरिक क्षमता र प्रतिभाको उचाइ नाप्न ठूलै संघर्ष गर्नुपरेको यथार्थले गम्भीर भएर सोच्न बाध्य बनाउँछ ।
नेपालभन्दा पनि पछि परेको बंगलादेशले उसु विधामा जिन्नत अख्तरले जितेको एक मात्र कांस्य पदकमा चित्त बुझाउँदै आफ्नो इज्जत जोगायो भने माल्दिभ्स र भुटान जस्ता देशहरू त पदक तालिकामा शून्य भएर घर फर्किए । यी सबै तथ्य र तथ्याङ्कहरूले स्पष्ट रूपमा के देखाउँछन् भने दक्षिण एसियाको यो भूगोल खेलकुदको उदीयमान क्षेत्र नभएको भान गराउँछ । जहाँ प्रतिभा हुँदाहुँदै पनि राज्यको उचित लगानी, अत्याधुनिक प्रशिक्षण र खेलकुदप्रतिको वैज्ञानिक रणनीतिको अभावमा खेलाडीहरू केवल सहभागितामा मात्र सीमित हुन विवश छन् ।
जब हामी भारतको सफलता र दक्षिण एसियाका अन्य राष्ट्रहरूको विवशतालाई ऐनामा राखेर दाँज्छौँ, तब एउटा के कठोर सत्य स्पष्ट हुन्छ भने सफलता संयोगले होइन, अठोट, योजना र योजनाबद्ध लगानीले मात्र सम्भव हुन्छ । भारतले आफ्नो युवा पुस्ताका लागि खडा गरेको विश्वस्तरीय खेलकुद पूर्वाधार, वैज्ञानिक प्रशिक्षण पद्धति र कर्पोरेट क्षेत्रको बलियो साथले आज उसलाई एसियाका एलिट राष्ट्रहरूको दाँजोमा उभ्याएको छ ।
जबकि हाम्रा खेलाडीहरू भने सीमित स्रोतसाधन र सरकारी उपेक्षाको मार खेप्दै रगत र पसिना बगाउन बाध्य छन् । नागोया २०२६ को यो परिणामले हामीलाई चेतावनी मात्र दिएको छैन, यो त आगामी दिनमा हाम्रो खेलकुदको स्तर उकास्नका लागि एक गम्भीर आत्मसमीक्षा गर्ने घडी पनि हो । यदि हामीले अब पनि चेतेर खेलकुदलाई राष्ट्रिय गौरव, प्राथमिकता र व्यवस्थित नीतिको दायराभित्र ल्याएनौँ भने एसियाली र ओलम्पिक जस्ता ठूला मञ्चहरूमा दक्षिण एसियाका अन्य देशहरूको यो निरीहता र संकुचन कहिल्यै अन्त्य हुनेछैन र हाम्रा सपनाहरू सधैँ कागजका पानामा मात्र सीमित रहनेछन् ।











प्रतिक्रिया