लन्डन, (एजेन्सी) ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफूले राष्ट्रिय फुटबल टोलीको क्याम्प छाड्नु गल्ती भएको स्विकार गरेका छन् । यसका लागि सजाय भोग्न तयार रहेको भन्दै उनले संन्यास लिने कुनै योजना नरहेको बताए ।
४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जेससले आफूसँग गरेको वाचा दुईपटक तोडेपछि आफूले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडेको दाबी गरेका छन् । गत साता नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा रोनाल्डो बेन्चमै बसेका थिए । त्यसपछि डेनमार्कविरुद्ध पनि आफू सुरुआती टोलीमा नपर्ने थाहा पाएपछि उनले राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए ।
‘मैले क्याम्प छाड्नु हुँदैनथ्यो । यसको जिम्मेवारी पूर्ण रूपमा मेरो हो,’ रोनाल्डोले भने । उनले आफ्ना सहकर्मी खेलाडी र पोर्चुगलका समर्थकसँग पनि माफी मागेका छन् ।
रोनाल्डोले सामाजिक सञ्जालमा करिब दुई हजार शब्द लामो वक्तव्य जारी गर्दै आफूले गरेको कामको जिम्मेवारी लिन तयार रहेको बताएका छन् । उनले पोर्चुगिज फुटबल महासंघले आफूलाई कारबाही गर्नुपर्ने र त्यसमा कुनै छुट दिन नहुने पनि बताए ।तर रोनाल्डोले आफूले क्याम्प छाड्नुको मुख्य कारण प्रशिक्षक जेसससँगको विश्वास टुट्नु रहेको बताएका थिए ।











प्रतिक्रिया