केही घरमात्र थिए चरिकोटमा, बनमारा, चोथ्रो–ऐँसेलुका केही पोथ्राहरु र खुल्ला चौर । म उकालै– उकालो सातदोबाटो चोकबाट सिमपानीतिर लम्किरहेको थिएँ । साँझको समय, हल्का हिमपातले मौसम सुरम्य लाग्थ्यो । पहेँलो ऐँसेलुमा हिउँका भुवादार छिर्का पर्दा साँझको सूर्यास्तको प्रकाश थप उज्यालो बनेको थियो ।
बास बस्न पैँयु र दुधिलोका रुखतिर उड्दै गरेका चराको चिरबिर आवाजले सङ्गीतको नयाँ धुन गुन्जिएको थियो । मनमौजी मनका स्वतन्त्र विचरणले शरीरमा नयाँ स्फूर्ति भरिएको थियो । म निर्धक्क थिएँ । न कसैको भय, न कुनै चिन्ता र आक्रोश ।
युजी (मेरो घरको कुकुर) को आवाजले म बिउँझिएँ । मैले सपनामा चरिकोटको विगतका सौन्दर्य नियालिरहेको थिएँ । सपनाको त्यो सुमधुर पल ४०–४५ वर्षअघिको मेरो जीवनका अनमोल समय थिए । त्यति बेला म स्वतन्त्र थिएँ, निर्धक्क थिएँ । चरिकोट सुन्दर र अग्र्यानिक थियो ।
हरेक मानिसले सपना देख्छन् । केही सपना बिहानीको बिउँझाइसँगै विलिन हुन्छन्, केही सपना मानसपटलमा धेरै लामो समयसम्म रहिरहन्छन् । मेरो मानसपटलमा रहने हरेक सपना अतीतका सुखद पलसँग जोडिएका हुन्छन् । म जति बेला आमासँग आश्रित थिएँ, मेरा हरेक पल सुखद थिए । न चिन्ता, न कुनै आँतेस र अपेक्षा ! त्यति बेला चरिकोट पनि अग्र्यानिक थियो । दुबोका चौर, ऐँसेलु, घङ्गारु र चुथ्रोका पोथ्राहरु । चम्किलो गौरीशङ्करको उज्यालोमा कालिञ्चोक, शैलुङ र चेर्दुङको पहाडले सुन्दरता छरेको सुन्दर चरिकोट । हो मेरो हरेक सपनामा त्यही चरिकोट आइरहन्छ । बारम्बार– हरेक बार ।
किन थाहा छैन, तर चरिकोटले मलाई प्रत्येक रात पछ्याइरहन्छ, पुरानो चरिकोटले, अग्र्यानिक चरिकोटले ।
सपना जीवनका अनुभूतिहरुको प्रकटीकरण हो । जीवनका सुन्दर–पीडादायी पलहरु उक्लँदै–ओर्लंदै निरन्तर अघि बढिरहन्छन् । सपनीले
अतीतका ती पलहरुलाई पुनर्ताजगी गरिदिन्छ, जहाँ पीडाका चिच्याहट र खुशीका मुस्कुराहट निर्धक्कै महसुस गर्न सकिन्छ ।
सपनीमा आमाको स्मृति र चरिकोटको प्रकृतिबीचको तादात्म्यता अनौठो लाग्छ । आमा आउँदिनन् सपनीमा खासै । उनी मलाई दुःखी देख्नै चाहन्नन् । उनको आगमनपछिको मेरो बिउँझाइले पीडा थपिदिन्छ भन्ने उनलाई हेक्का छ । जुन कुरा उनी चाहन्नन्, त्यसैले सपनीमा आउँदिनन् । तर उनको स्मृति मेरो हरेक सपनीको पृष्ठभूमि बनेर रुमलिइरहेको हुन्छ ।
चरिकोटका ती प्रत्येक पलहरु जहाँ हिउँका भुवादार छिर्काले मलाई रोमाञ्चित गरिरहेको हुन्थ्यो । ती पलहरु, आमाको न्यानो मायामा मैले व्यतीत गरिरहेको हुन्थेँ । अब त ती पलहरु म एक्लै बिताइरहेको हुन्छु सपनीमा पनि, किनभने मेरी आमा सपनीमा आउँदिनन् । अहँ आउँदै आउँदिनन् ।
आमाको काख र प्रत्यक्ष निगरानीमा दौडने जिन्दगी कति भाग्यमानी । म पनि अभागीचाहिँ हैन । जन्म र कर्म दिने आमाहरु क्षितिजपारि कतैबाट मेरै निगरानीमै त हुनुहुन्छ नि ! त्यसैले आमाको स्मृति मेरो हरेक सपनीको पृष्ठभूमि हो भन्छु । अनि चरिकोटको लागि हिउँका भुवादार छिर्काहरु पनि सपनी नै भएका छन् । यथार्थमा चरिकोट कृत्रिम सुन्दरतासँग नतमस्तक छ ।
अहिले त चरिकोट कहाँ अग्र्यानिक छ र ! कङ्क्रिटको शहर बनेको चरिकोट सफाइ र व्यवस्थापनको समेत अभाव भएपछि कुरुप बन्ने भयमा आतङ्कित छ । अब त गौरीशङ्करलाई चिहाउन कि घरका छतहरु उक्लनुपर्छ, कि चरिघ्याङ र सिमपानीसम्म दौडनुपर्छ ।
मानिसको खलबल र सवारीसाधनका ट्याँट्याँ–टुँटुँले युजी (प्रतिनिधिको रुपमा युजीको नाम राखिए पनि अव्यवस्थित शहरीकरणका कारण हरेक जनावरलाई समस्या छ) लाई बिहान–बेलुकाको सयरमा समेत कष्ट छ ।
चरिकोटमा हिमपातको त कल्पनै नगरौँ । उति बेला पुस–माघको महिनामा फल्याकको छानो भएको घरमा हप्तौँ हिउँ टल्किन्थ्यो । बलेसी र बारीका कुनाकाप्चामा हप्तौँ हिँउको रास देखिन्थ्यो । यी सबै एकादेशको कथा भएको छ । केही वर्षपछि कालिञ्चोक, शैलुङ, खरीढुङ्गा, मुडे र हनुमन्ते डाँडामा पनि हिउँ नदेखिने हो कि ! हुन त क्रमशः हिमालहरु नै कालो हुँदै गएको खबर बेला–बेलामा अनलाइन र अखबारहरुमा पढ्न पाइएकै छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी विश्वव्यापी तापक्रम वृद्धिको पराकम्प (जलवायु परिवर्तनको नतिजा) थियो भन्ने कुरामा हामी सबै सहमत छौँ । तर, के यसको दोष अमेरिका, चीन, भारतजस्ता मुलुकहरुलाई दिएर मात्र समाधान निस्कन्छ र ! हरितगृह ग्यास उत्पादन हुनुमा यी मुलुकहरु मुख्यरुपमा दोषी छन्, त्यो सत्य हो । हामी यो मामलामा दोषी छैनौँ । त्यसो हुँदाहुँदै पनि हामीले साना–साना कुरामा सचेतना अपनाउन नसक्दा पनि परिणाम भयङ्कर बनेको छ । त्यसैले विश्वव्यापी तापक्रम वृद्धिले निम्त्याउने दैवी विपत्तिमा हरितगृह ग्यास उत्पादन गर्ने ठूला मुलुकहरुसँग क्षतिपूर्ति माग गरेर मात्र समाधान निस्कँदैन ।
के चरिकोट बजारमा बढ्दै गएको कङ्क्रिट शहर विश्वव्यापी तापक्रम वृद्धिको लागि दोषी छैन ? चरिकोटको कङ्क्रिट शहरले अमेरिका, चीन, भारतजस्ता मुलुकलाई प्रभाव पार्दैन, यो सत्य हो । तर, के चरिकोटको वातावरणमा यो कारक बन्दैन र ? कालिन्चोकमा हरेक वर्ष हिमपातमा कमी हुँदै जानुको दोष हरितगृह ग्यास उत्पादन गर्ने मुलुकहरुलाई मात्र दिने कि त्यहाँ बढ्दै गएको फोहोर र अव्यवस्थित बस्ती पनि दोषी छन् ? गाँउका खोला–खोल्सी, बारीको कान्ला र बन–पहरामा पहिरो जानुको दोष पनि विश्वव्यापी तापक्रम वृद्धिलाई मात्र दिने ? जथाभावी चलेका डोजर, प्राविधिक सल्लाहविनै नालाविहीन खनिएका सडक, मापदण्ड विपरीत खोला–नदीमा हुलिएका डोजर, यसको लागि दोषी छैनन् ? एकपटक विचार गरौँ त, दोष हाम्रै पनि धेरै छन् कि !
उति बेलाको अग्र्यानिक चरिकोटमा धेरै कुरा नभए पनि व्यवस्थापन थियो । अहिलेको विकसित चरिकोटमा धेरै कुरा छ, तर व्यवस्थापन छैन । हो, यही कुरा विनाशको कारक बन्दै गएको छ । चरिकोटमा मात्र हैन, धेरै ठाँउमा चोथ्रा, घङ्गारु, ऐँसेलुका बोट देख्न छोडिएका छन् । आफ्नो गतिमा बग्ने खोला–खोल्सीलाई घर र सडक बाधक बनेका छन् ।
अहिले नेपालमा चौँरीको संख्यामा कमी आएको छ । सर्पहरु बाहिर निस्कने क्रम बेमौसमी बनेको छ । यो शुभ सङ्केत हैन । सिन्धुपाल्चोकको जुरेमा पहिरो आउनुअघि धेरै सर्पहरु बाहिर निस्किएको कुरा किस्साकै रुपमा भए पनि आसपासका मानिसले सुनाउने गरेका छन् । त्यसैले दोषजति विश्वव्यापी तापक्रम वृद्धिलाई दिएर हामी हाम्रै घर–आँगनको खोला–खोल्सी, पहाडी चुचुरा र नदीनालालाई अन्याय गरिरहने हो भने हरितगृह ग्यास उत्पादन गर्ने मुलुकहरुले प्राकृतिक विपत्तिमा मलहम लगाउन पठाउने सहयोग मृत्युको मलामीभन्दा बढी केही हुन सक्दैन ।
मैले शुरुमा सपनाको प्रसंग उल्लेख गरेको थिएँ । त्यो मेरो विगतका भोगाइको संस्मरण हो । म त्यो विगतलाई अब प्रत्यक्ष अनुभूत गर्न सक्दिन । त्यो विगतलाई सपनामा अनुभूत गर्दै संस्मरणमा ताजा बनाइराख्ने मात्र हो । विकास समय र आवश्यकताअनुसार अघि बढ्छ । अघि बढाउनै पनि पर्छ । कालिञ्चोकमा सडक पुग्नै हुन्न, बस्ती बस्नै हुन्न भन्ने मान्यता गलत हुन्छ । तर, विचारणीय कुरा के भने सडक र बस्ती कालिञ्चोकतिर दौडिरहँदा त्यसले पार्ने नकारात्मक प्रभावको पनि अध्ययन हुनुपर्छ । अनि नकारात्मक प्रभाव न्यूनीकरणसँगै सडक र बस्तीलाई विस्तार गर्नुपर्छ । अर्थात् विकाससँगै व्यवस्थापन पनि दौडनुपर्छ ।
स्वीट्रजरल्यान्डमा पर्याप्त विकास भएको छ । त्यो विकास प्रकृतिसँग द्वन्द्व गरेर हैन, सहकार्य गरेर अघि बढेको छ । हाम्रो देशमा भने विकासले सबै ठाँउमा प्रकृतिसँग द्वन्द्व मात्र गरेको देखिन्छ । त्यही भएर बेला–बेलामा प्रकृतिले दैवी ताण्डव देखाउने गरेको छ । नेपालका धेरै भूमि प्राकृतिक सुन्दरताले भरिएका छन् । ती सुन्दर भूमिमा समयक्रमको विकास दौडिरहँदा अग्र्यानिक विशेषता कायमै राख्ने प्रविधि पनि त दौडाउन सकिन्छ होला नि ! आधुनिकताले विनाशकारी विकास मात्र भित्र्याउँछ भन्ने सोच पाल्ने मानसिकता गलत छ । अग्र्यानिक प्रकृतिलाई आधुनिक ढाँचा मात्र दिने गरी पनि विकासे दौड अघि बढाउन सकिन्छ ।
शहरीकरणमा कङ्क्रिटलाई हैन, प्रकृतिलाई प्राथमिकतामा राखौँ । एउटा घर बनाउँदा सँगै कमसे कम एक जोडी रुख रोपौँ । सडक विस्तारमा नाला र वृक्षरोपण पनि जोडिएर आऊन् । डोजरको प्रयोग प्रकृतिको बनावट र आवश्यकताको आधारमा मात्र अनुमतियोग्य बनोस् । खोला–खोल्सी आफ्नो गति र गन्तव्यमा अघि बढ्न सकून्, त्यहाँ कुनै घर र सडक बाधक नबनून् ।
अब चरिकोटमा तीव्र गतिको हिमपात सम्भव छैन । कमसे कम कालिञ्चोक, शैलुङ, खावाडाँडा, मुडे र खरिढुङ्गामा पुस–माघतिर हिउँका भुवादार छिर्काहरुले मानिसलाई स्पर्श गर्ने हिम्मत राखून् । अझै धेरै वर्ष लप्ची र बिगुका गुम्बा हिउँले सेताम्य बनून् । च्छो–रोल्पा हिमताल विस्फोटको त्रासले तामाकोशी किनारका बासिन्दाले वर्षासँगै अनिदो बस्न नपरोस् ।











प्रतिक्रिया