बिलबिजकबिनाका मोबाइल बिक्री गरेको आरोपमा व्यापारी पक्राउ

1.03k
Shares

भरतपुर

चितवन प्रहरीले बिलबिजकबिना मोबाइल बिक्री वितरण गरेको आरोपमा एक मोबाइल व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० का ४१ वर्षीय दीपक प्रसाई रहेका छन् ।

भरतपुर महानगरपालिका–१ र १० को इन्द्रदेव मार्गमा ‘दीपक मोबाइल हाउस’ सञ्चालन गर्दै आएका प्रसाईलाई बिलबिजकबिनाका मोबाइल बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई भरतपुरको हाकिमचोकबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीले उनको पसलमा खानतलासी गर्दा विभिन्न सिरिजका एप्पल कम्पनीका ५० थान आइफोन बरामद गरेको छ । त्यसैगरी सामसुङ कम्पनीका ४ थान, रेडमी कम्पनीका २ थान र भिभो कम्पनीको १ थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, एप्पल कम्पनीको एउटा आइप्याडसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बरामद गरिएका मोबाइल तथा अन्य विद्युतीय उपकरणको बिलबिजक र खरिद–बिक्रीसम्बन्धी कागजातबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

बिलबिजकबिना मोबाइललगायतका विद्युतीय सामग्री बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले उक्त मोबाइल हाउसमा निगरानी बढाएको थियो । सोही क्रममा प्रसाईलाई नियन्त्रणमा लिई पसलबाट विभिन्न कम्पनीका मोबाइल तथा आइप्याड बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद सामग्रीको स्रोत, खरिदसम्बन्धी कागजात तथा बिक्री वितरणको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनासँग सम्बन्धित कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।