काठमाडौँ।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध भइरहेको अनुसन्धानसँग सम्बन्धित सक्कल फाइल इजलासमा पेस गर्न आदेश दिएको छ।
सोमबार (असोज १९) गते न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले नेपाल प्रहरीको साइबर ब्युरोलाई अनुसन्धानको सक्कल मिसिलसहित म्याद थपसम्बन्धी कागजात पेस गर्न निर्देशन दिएको हो।
अदालतले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत परेको जाहेरीमाथि भएको अनुसन्धानको फाइल इजलासमा देखाएर पुनः फिर्ता लैजान सकिने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन भनेको छ। साथै, उक्त विषयमा असोज २० गतेका लागि पेसी तोक्दै नियमानुसार पेस गर्न आदेश दिएको छ।
प्रसाईंको तर्फबाट उनकी श्रीमती उमा प्रसाईंले असोज १४ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। त्यसअघि साइबर ब्युरोको टोलीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।
साइबर अपराधसम्बन्धी अनुसन्धानका लागि प्रहरीले अदालतसँग प्रसाईंलाई हिरासतमा राख्न म्याद थपको अनुमति मागेको थियो। यसअघि पनि प्रसाईंविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले साइबर ब्युरोलगायत विपक्षी निकायसँग लिखित जवाफ माग गरेको थियो।
प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पक्राउ परी अनुसन्धानका क्रममा हिरासतमा बसेर रिहा भएका थिए।











प्रतिक्रिया