चितवन ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भरतपुरका अध्यक्ष मीनराज बस्ताकोटीले निजी विद्यालयको शुल्क महँगो लाग्ने अभिभावकका लागि सामुदायिक विद्यालय विकल्पका रूपमा खुला रहेको बताएका छन् ।
निजी विद्यालयले लिएको शुल्क र त्यसको औचित्यबारे बहस भइरहेका बेला अध्यक्ष बस्ताकोटीले सामुदायिक विद्यालयको विकल्प हुँदाहुँदै निजी विद्यालय र तिनका सञ्चालकलाई लक्षित गरी नकारात्मक प्रचार गर्नु उचित नभएको धारणा राखेका हुन् ।
उनले तलब वृद्धि, महँगी र मुद्रास्फीतिजस्ता पक्षलाई बेवास्ता गरेर विद्यालय तथा विद्यालय सञ्चालकको छविमा आँच पुग्ने गरी प्रचार गरिनु दुःखद भएको उल्लेख गरेका छन् । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई बढेको तलब उपलब्ध गराउनु आफ्नो दायित्व भएको भन्दै उनले त्यसका लागि विद्यालय सञ्चालक प्रतिबद्ध रहेको बताएका छन् ।
‘तलब वृद्धि, महँगी र मुद्रास्फीतिजस्ता विषयलाई बेवास्ता गरी विद्यालय र विद्यालय सञ्चालकको चरित्र हत्या हुने गरी प्रचार हुनु झनै दुःखद छ,’ उनले लेखेका छन् ।
बस्ताकोटीले गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसमा लागत लाग्ने तर्क गरेका छन् । उनका अनुसार विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई बढेको तलब दिनु सञ्चालकको कर्तव्य हो र यस विषयमा आफूहरू प्रतिबद्ध छन् ।
‘कुनै पनि चिज निःशुल्क पाइँदैन र गुणस्तरीय शिक्षाका लागि केही लागत त लाग्छ नै,’ उनले आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन् ।
निजी विद्यालयले गरेको शुल्क वृद्धिको विषयलाई लिएर अभिभावक, विद्यार्थी संगठन र विद्यालय सञ्चालकबीच बहस चर्किरहेका बेला प्याब्सन भरतपुरका अध्यक्षको यो अभिव्यक्ति आएको हो । शुल्क वृद्धिको औचित्य, अभिभावकको आर्थिक अवस्था र गुणस्तरीय शिक्षाका लागि आवश्यक खर्चका विषयमा सरोकारवालाबीच फरक–फरक धारणा सार्वजनिक भइरहेका छन् ।
निजी विद्यालय सञ्चालकले शिक्षक तथा कर्मचारीको पारिश्रमिक वृद्धि र सञ्चालन खर्चलाई शुल्कसँग जोडेर हेर्नुपर्ने तर्क गर्दै आएका छन् भने अभिभावक तथा विद्यार्थी संगठनले शुल्क वृद्धि गर्दा अभिभावकको आर्थिक क्षमतासमेत विचार गर्नुपर्ने माग गर्दै आएका छन् । शुल्क निर्धारणमा पारदर्शिता र सम्बन्धित निकायको नियमन प्रभावकारी बनाउनुपर्ने विषय पनि यस विवादको केन्द्रमा छ ।











प्रतिक्रिया