काठमाडौं
जम्मु–कश्मीर विवादको समाधानका लागि अन्तर्राष्ट्रिय कूटनीतिक पहललाई निरन्तरता दिन पाकिस्तानले आग्रह गरेको छ। काठमाडौंस्थित पाकिस्तानी दूतावासले बिहीबार आयोजना गरेको ‘कश्मीर ब्ल्याक डे’ सम्बन्धी कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्री तथा विदेशमन्त्रीका सन्देशमार्फत विवादको शान्तिपूर्ण समाधानका लागि संयुक्त राष्ट्रसंघको भूमिका बढाउनुपर्ने धारणा राखिएको हो।
सो अवसरमा दूताबासले ‘अन्तर्राष्ट्रिय कूटनीति र कश्मीरका लागि भावी मार्ग’ विषयक छलफलको पनि आयोजना गरेको थियो । नेपाली पत्रकार, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी उक्त छलफलमा जम्मु–कश्मीर विवादको समाधानमा अन्तर्राष्ट्रिय कूटनीतिको भूमिका र कश्मीरी जनताको आत्मनिर्णयको अधिकारबारे चर्चा गरिएको थियो।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले सन्देशमार्फत सन् २०१९ अगस्ट ५ मा भारतले जम्मु–कश्मीरको संवैधानिक व्यवस्थामा गरेको परिवर्तनपछि त्यहाँको मानवअधिकार अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले विवादको न्यायोचित र शान्तिपूर्ण समाधानका लागि संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
पाकिस्प्रतानका धानमन्त्री शहबाज सरिफले दक्षिण एसियामा दिगो शान्ति र स्थिरताका लागि जम्मु–कश्मीर विवादको समाधान आवश्यक रहेको बताउनुभयो। उहाँले कश्मीरमा आधारभूत स्वतन्त्रतामाथिका प्रतिबन्ध तथा राजनीतिक नेता र कार्यकर्ताको हिरासतका विषय उठाउँदै कश्मीरी जनतालाई पाकिस्तानले राजनीतिक, कूटनीतिक र नैतिक समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक डारले विवादको न्यायोचित, शान्तिपूर्ण र दीर्घकालीन समाधानका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सान्दर्भिक प्रस्तावलाई आधार बनाउनुपर्ने बताउनुभयो। उहाँले कश्मीरी जनताको अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायको निरन्तर संलग्नतामा जोड दिनुभयो।
नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले पनि जम्मु–कश्मीर विवादको समाधानका लागि अन्तर्राष्ट्रिय कूटनीतिक प्रयासलाई अर्थपूर्ण र निरन्तर बनाउनुपर्ने बताउनुभयो। उहाँले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सान्दर्भिक प्रस्तावअनुसार कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभयो।
न्युज अफ नेपालsarada gautamEdit Profile
पाकिस्तानले सन् १९४७ अक्टोबर २७ मा भारतीय सेना श्रीनगर प्रवेश गरेको घटनालाई जम्मु–कश्मीर विवादको इतिहासमा महत्त्वपूर्ण मोडका रूपमा लिँदै उक्त दिनलाई ‘कश्मीर ब्ल्याक डे’ का रूपमा मनाउँदै आएको छ। पाकिस्तान र विश्वका विभिन्न देशमा रहेका कश्मीरीहरूले अक्टोबर २७ लाई जम्मु–कश्मीरको अवस्थाप्रति विरोध जनाउने दिनका रूपमा मनाउने गरेका छन्। यस अवसरमा पाकिस्तानका कूटनीतिक नियोगहरूले विभिन्न देशमा अन्तरक्रिया, विचार–विमर्श तथा वृत्तचित्र प्रदर्शनजस्ता कार्यक्रम आयोजना गर्दै आएका छन्।
जम्मु–कश्मीर भारत र पाकिस्तानबीच लामो समयदेखि विवादको विषय रहँदै आएको छ। भारतले जम्मु–कश्मीरलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ भने पाकिस्तानले विवादको समाधान संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्ताव र कश्मीरी जनताको आत्मनिर्णयको अधिकारका आधारमा हुनुपर्ने अडान राख्दै आएको छ। दुवै देशका फरक धारणाबीच विवादको शान्तिपूर्ण समाधान दक्षिण एसियाको स्थिरता र क्षेत्रीय सम्बन्धका लागि महत्त्वपूर्ण विषय रहँदै आएको छ।











प्रतिक्रिया