नेपालभर सुरु भयो चेरी क्यूको डेलिभरी


काठमाडौं ।

नेपालमा चेरी सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आफ्नो नयाँ विद्युतीय एसयूभी ‘चेरी क्यू’ को डेलिभरी काठमाडौंसहित देशका प्रमुख सहरमा सुरु गरेको छ।

कम्पनीका अनुसार काठमाडौं, चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा चेरी क्यूको डेलिभरी औपचारिक रूपमा सुरु गरिएको हो। आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यस विद्युतीय एसयूभीमा आकर्षक बनावटसँगै विभिन्न आधुनिक प्रविधि र सुविधाहरू समावेश छन्।

चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ४०० किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसमा ५४० डिग्री क्यामेरा, १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, विद्युतीय रूपमा सञ्चालन हुने ७० लिटर क्षमताको फ्रङ्क अर्थात् अगाडिको सामान राख्ने ठाउँ र १५.६ इन्चको टचस्क्रिन प्रणाली उपलब्ध छ।

यसका साथै सवारी चलाउँदा चालकलाई सहयोग गर्ने २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली (एडास) सुविधासमेत यसमा समावेश गरिएको कम्पनीले जनाएको छ।

डिजाइनका हिसाबले पनि चेरी क्यूले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको कम्पनीको दाबी छ। यसले सन् २०२५ को रेड डट डिजाइन अवार्ड र सन् २०२६ को आईएफ डिजाइन अवार्ड प्राप्त गरेको छ। आकर्षक डिजाइन र आधुनिक प्रविधिका कारण यो विद्युतीय एसयूभीले सामाजिक सञ्जालमा समेत चर्चा बटुलिरहेको कम्पनीले जनाएको छ।

काठमाडौंसहित चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा डेलिभरी सुरु भएसँगै नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ। प्रमुख सहरका ग्राहकलाई आफ्ना सवारीसाधन सहज रूपमा उपलब्ध गराउने उद्देश्यअनुसार डेलिभरी सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ।

आधुनिक डिजाइन, प्रविधि र व्यावहारिक उपयोगितालाई प्राथमिकता दिएको चेरी क्यूले नेपाली विद्युतीय सवारीसाधन बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्य राखेको छ।