अस्पताल सुधार्न उपकुलपति र निर्देशकलाई मन्त्रीको कडा निर्देशन

सरसफाइ, शय्या र प्रतीक्षा समय घटाउन ६ प्रतिष्ठानसँग कार्यसम्पादन सम्झौता, १९ सङ्घीय अस्पतालका प्रमुख पनि सम्झौतामा


काठमाडौं।

अस्पतालको सरसफाइदेखि बिरामीले उपचारका लागि लामो समय कुर्नुपर्ने अवस्थासम्म सुधार गर्न सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र सङ्घीय अस्पतालका प्रमुखलाई कार्यसम्पादन सम्झौतामार्फत जिम्मेवार बनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिहीबार छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गर्दै अस्पतालमा आउने बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा पाउने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएकी हुन् ।

मन्त्री मेहताले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग सम्झौता गरेकी हुन् ।

सम्झौतामा अस्पतालको सरसफाइ तथा स्वच्छता, बिरामीलाई आवश्यकताअनुसार समयमै शय्या उपलब्ध गराउने, उपचारका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

अस्पतालमा उपचारका लागि पुग्ने बिरामीले शय्या नपाउने, उपचारका लागि घण्टौँ कुर्नुपर्ने र स्वास्थ्यकर्मीको व्यवहारसमेत सेवामैत्री नहुने गुनासोका बीच मन्त्रालयले सेवा सुधारलाई कार्यसम्पादन सम्झौतासँग जोडेको हो ।

मन्त्री मेहताले अस्पतालको सरसफाइ र स्वच्छता कायम गर्न, बिरामीको चापअनुसार शय्या व्यवस्थापन गर्न तथा उपचार सेवामा हुने ढिलाइ न्यूनीकरण गर्न उपकुलपतिहरूलाई निर्देशन दिइन् । स्वास्थ्यकर्मीको व्यवहारलाई सेवामैत्री, जिम्मेवार र बिरामीप्रति संवेदनशील बनाउनुपर्नेमा पनि उनले जोड दिइन् ।

स्वास्थ्य सेवा प्रभावकारी बनाउने नाममा सम्झौता गरेर मात्र नपुग्ने भन्दै त्यसको कार्यान्वयनबाट सेवाग्राहीले प्रत्यक्ष परिवर्तन अनुभूति गर्नुपर्ने मन्त्रालयको अपेक्षा छ । संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै बिरामीले सहज रूपमा उपचार पाउने वातावरण निर्माण गर्नुपर्ने मन्त्री मेहताको भनाइ थियो ।

मन्त्रीको सचिवालयका अनुसार कार्यसम्पादन सम्झौताले प्रतिष्ठानहरूको जिम्मेवारी र लक्ष्य स्पष्ट पार्नुका साथै सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

यसैबीच, स्वास्थ्य सचिव डा. विकास देवकोटाले पनि आर्थिक वर्ष २०८३/८४ का लागि १९ वटा सङ्घीय अस्पतालका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रतिष्ठानका उपकुलपति र सङ्घीय अस्पतालका प्रमुखसँग छुट्टाछुट्टै सम्झौता गर्दै मन्त्रालयले अस्पतालको व्यवस्थापन, सेवा प्रवाह र जवाफदेहितामा सुधार गर्ने पहल अघि बढाएको हो ।

अब सम्झौतामा उल्लेख गरिएका लक्ष्य कति पूरा हुन्छन् र बिरामीले अस्पतालमा सेवा लिन भोग्दै आएका समस्या कति घट्छन् भन्ने विषय कार्यान्वयन र अनुगमनबाट स्पष्ट हुनेछ ।