रौतहट ।
रौतहटमा अलपत्र परेका ४२ भारतीय नागरिकको उद्धार गरी रौतहट प्रहरीले उनीहरूकै निवासतर्फ पठाएको छ।
भारतीय ठेकेदारमार्फत काम गर्न आएका भारतीय नागरिक रौतहरको इट्टाभट्टामा अलपत्र परेपछि प्रहरीले उद्धार गरी भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको छ।
गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित महमद मुजामिलले सञ्चालन गरेको मदिना इँटा भट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला तथा उनीहरूका आश्रित १० बालक र ९ बालिका गरी ४२ जना अलपत्र भारतीय नागरिकको उद्धार गरी उनीहरूकै देश पठाइएको हो।
भारतीय ठेकेदारमार्फत कामका लागि ल्याइएको भए पनि ठेकेदार सम्पर्कविहीन भएपछि उनीहरू अलपत्र परेको जानकारी पाएपछि उद्धार गरी भारतीय प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले बताउनुभयो। अलपत्र परेका भारतीय नागरिकको जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनियाँ विजयपुरबाट संयुक्त प्रहरी टोली परिचालन गरी उद्धार गरिएको हो।
घटनाबारे आवश्यक अनुसन्धानपछि प्रहरीले बुधबार साँझ ५ बजे सबै ४२ जनालाई उद्धार गरी ना.७ ख १६७५ नम्बरको बसमार्फत गौर भन्सार हुँदै सीमावर्ती भारतीय प्रहरीको जिम्मा लगाइएको गौर भन्सार सुरक्षा गार्ड रौतहटको पहलमा उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (I/C AHTU, 20 Bn SSB F Coy) बर्गिनिया का प्रहरीलाई सकुशल जिम्मा लगाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया