सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल एसएसबी भारतबीच द्विपक्षीय समन्वय बैठक शुरु


काठमाडौं।

आजदेखि १३ गते सम्म सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (SSB), भारत बीच सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण तथा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले १०औं द्विपक्षीय समन्वय बैठक काठमाडौँमा शुरु भएको छ।

द्विपक्षीय बैठकको क्रममा सीमा व्यवस्थापन संयन्त्रले निर्दिष्ट गरेको मार्गदर्शनको आधारमा दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भहरुको संरक्षण, मर्मत सम्भार तथा निर्माण, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा सीमापार प्रभाव पार्न सक्ने महामारी र विपदको जोखिम न्यूनीकरण गर्न नियमित समन्वय बैठक, तत्काल सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। साथै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउन र सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल, भारतबीच आपसी सम्बन्ध तथा सहकार्य बढाउन मैत्रीपूर्ण खेलकुद लगायतका आपसी समन्वय अभिवृद्धी केन्द्रित गतिबिधिहरु संचालन गर्ने बिषयमा समेत छलफल हुनेछ।

बैठकमा दुवै देशका सीमा सुरक्षा निकाय लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको छ। नेपालको तर्फबाट बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान बिभाग तथा नापी बिभागका प्रतिनिधिहरुको सहभागिता रहेको प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले गर्नुभएको छ भने भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपाल स्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च पदस्थ अधिकृतहरुको सहभागीता रहेको प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बल (SSB), भारतका महानिर्देशक संजय सिंघलले गर्नुभएको छ।

बैठकमा सीमाको प्रभावकारी सुरक्षा व्यवस्थापन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रण, अवैध हातहतियार तथा अन्य सामाग्रीहरुको तस्करी नियन्त्रण र सीमा क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्ने विषयमा हालसम्म भईरहेको समन्वयात्मक प्रयासहरुको समिक्षा हुनेछ।

बैठकमा सीमा सुरक्षालाई थप मजबुत बनाउनका लागि दुवै संगठनबीच क्षमता अभिवृद्धि र संस्थागत सहयोग बढाउने, नेपाल-भारत खुला सीमानाको प्रयोग गरी हुन सक्ने तेस्रो मुलुकका नागरिकहरूको अवैध आवागमनलाई कडाइका साथ नियमन गर्ने, सीमा व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र आधुनिक बनाउनका लागि उपयुक्त प्रविधिको प्रयोग गर्ने, विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संयुक्त सहकार्यलाई प्रभावकारी बनाउने तथा सीमा नाकाहरूमा यात्रुहरूको सहजताका लागि थप सहायता कक्षहरू स्थापना गर्ने विषयमा समेत विचारविमर्श हुनेछ भने सीमा क्षेत्रमा उत्पन्न हुन सक्ने समस्या तथा चुनौतीहरूको समयमै पहिचान र समाधान गर्न नियमित सम्पर्क, आपसी विश्वास, सूचनाको प्रभावकारी आदानप्रदान र संस्थागत समन्वयलाई निरन्तरता दिने बिषयमा समेत छलफल हुनेछ।

द्विपक्षीय बैठकले नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सदभाव कायम गर्न दुवै सुरक्षा निकायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।