काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले तिहारमा प्लास्टिक र आयातित फूल पूर्ण निषेध गर्ने भएको छ । कामपा प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले प्याष्टिक र आयातित फूल बिक्री वितरणमा पूर्ण निषेधित गर्ने जानकारी दिनुभयो । उहाँले तिहारको समयमा प्याष्टिक र आयातित फूल बिक्री वितरण गरेको गरेको जानकारी पाए तत्काल जफत गर्ने बताउनुभयो ।
राजधानीमा नेपालमा उत्पादित फूलको बजार बिस्तार गर्न र बजार प्रवर्धन गर्न प्लास्टिक र आयातित फूल पूर्ण निषेधित गर्न लागेको हो ।
कामपाले एक दुई दिनमा सार्बजनिक सूचना जारी गरी अनुगमन गर्ने भएको छ । हामीले चारै क्षेत्रमा रहेको प्रहरीबलको कार्यालयबाट अनुगमन गर्नेछौ, यदि अनधिकृत रुपमा बिक्री गर्न ल्याएको फूल फेला पारेमा तत्काल जफत गरी कारबाही गर्नेछौं – कामपा प्रहरी बल प्रमुख जोशीले न्युज अफ नेपालसंग भन्नुभयो ।
यसैबीच यो वर्षको तिहारमा करिब ५१ लाख ८० हजार वटा फूलका माला र ४३ लाख थान पोली तथा गमला गरी कुल ९४ लाख ८० हजार थान पुष्प सामग्रीको कारोबार हुने अनुमान गरिएको छ । फ्लोकिल्चर एसोशिसयन नेपाल(फ्यान)ले दिएको जानकारी अनुसार उक्त मला र फूल ब्यापार गरेपावत ६४ करोड ५० लाख रूपैयाँबराबरको कारोबार हुने अनुमान गरिएको छ ।
फ्यानले हालै देशभर सर्वेक्षण गरेको थियो ।सर्वेक्षणअनुसार मखमली फूलको उत्पादनमा नेपाल हाल पूर्ण रूपमा आत्मनिर्भर भइसकेको छ ।
एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठ व्यावसायिक खेतीको विस्तारसँगै नेपाल फूल उत्पादनमा क्रमशः आत्मनिर्भरतातर्फ अघि बढिरहेको बताउँछन् । हामी सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भैसकेका छौ, आयातित फूलको प्रयोग नगरौ–अध्यक्ष श्रेष्ठको आग्रह थियो । यो विषयमा फनले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेको छ ।
यस वर्ष तिहारका लागि ६ लाख मखमली मालाको बजार माग रहेकोमा स्वदेशी उत्पादनले शतप्रतिशत धान्न सक्ने फ्यानको भनाइ छ । स्वदेशी उत्पादनमध्ये करिब चारलाख माला आन्तरिक बजारमा खपत हुनेछ भने बाँकी दुईलाख माला विदेश निर्यात हुने अनुमान छ । औसत थोक मूल्य ४५ रुपैयाँ प्रतिमालाका दरले मखमलीबाट दुई करोड ७० लाख रुपैयाँबराबरको कारोबार हुनेछ ।
यसवर्ष तिहारमा ४५ लाख सयपत्री मालाको माग रहने अनुमान छ । औसत थोक मूल्य ९० रुपैयाँ प्रतिमालाका दरले सयपत्री मालाबाट ४० करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ ।
तथ्याङक अनुसार देशका ५४ जिल्लामा पुष्पखेती हुँदैआएको जनाएको छ । हाल ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको यस व्यवसायमा एक हजार ४४५ भन्दा बढी व्यवसायी संलग्न छन् । पुष्प व्यवसायमा ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको अनुमान छ । भने प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६२ हजार ५०० भन्दा बढीले रोजगारी पाएका छन् ।
एसोसिएसनका अनुसार आर्थिक वर्ष २०८१-८२ मा पुष्प व्यवसायको वार्षिक कारोबार तीन अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । चालुआर्थिक वर्ष २०८२-८३ मा कारोबार १६.९१ प्रतिशतले बढेर तीन अर्ब ९४ करोड रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
विवरणअनुसार आर्थिक वर्ष २०८२-८३ मा पुष्प तथा पुष्पजन्य वस्तुको आयात अघिल्लो वर्षको तुलनामा १०५.६६ प्रतिशतले बढेको छ भने निर्यात ४५.७९ प्रतिशतले घटेको छ । फूलका बीउबिजन, मदर प्लान्ट, जीवित बिरुवा र कट फ्लावरमा विदेशी निर्भरता कायमै रहेको यवसायीहरूको भनाइ छ ।











प्रतिक्रिया