मित्र राष्ट्र चीनसँग सीमा जोडिएका प्रायः सबै नाका अवरुद्ध भएपछि नेपालीको सबैभन्दा ठूलो चाड दशैँ महँगो हुने भएको छ । सञ्चालन भइरहेको बाँकी एकमात्र कोरला नाका पनि बन्द भएपछि आयात ठप्प भएको छ । दशैँको सामग्री बोकेका कन्टेनर कोरला नाकामा फसेका छन् । सयौंको संख्यामा इलेक्ट्रिक सवारीसाधन भन्सारमा अलपत्र परेका छन् । नेपालको लागि चाडबाड लक्षित सामग्री बोकेका मालवाहक कन्टेनरहरू पनि नाकामा अलपत्र छन् ।
नेपालसँग चीनको सिमाना जोडिएका कोरला, केरुङ र तातोपानी नाका प्रमुख हुन् । एक महिनाको बीचमा चीनसँगका प्रमुख व्यापारिक नाका केरुङ र कोरलासम्मको पहुँचमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएको छ । तातोपानी नाका पनि सञ्चालनमा आउन सकेको छैन । असोज १० गते आएको भोटेकोशी बाढीले टिमुरे भन्सार ध्वस्त बनाएपछि व्यापारिक सिमाना बन्द छ । यस नाकासँगको कनेक्सन तत्काल जोडिने सम्भावना छैन । चीन सरकारले आफूतर्फको सडक तयार गरे पनि नेपालतर्फको कहिले बन्छ ? अनिश्चित छ ।
रसुवागढीको नाका ध्वस्त भएपछि विकल्पका रूपमा प्रयोग भइरहेको कोरला नाकासँगको पहुँच मार्ग पनि गत आइतबार अवरुद्ध भएको हो । कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी कोरिडोरमा पर्ने तीनवटा पुलसँग जोडिने सडक बगाएको छ । तनहुँ र नवलपरासी जोड्ने डेढ गाउँ, मालढुंगा र म्याग्दीको पोखरेबगर एवं भुरुङ–तातोपानी जोड्ने पुलको एप्रोच सडक बगाएको छ । तीन एप्रोच सडक बगाएपछि कोरला नाका ठप्प छ । सो सडक सरकारले जतिसुकै चाँडो निर्माण गरे पनि करिब एक साता लाग्ने छ ।
दुई सिमानाका तयार हुनुअघि व्यापार हुने गरेको मुख्य नाका तातोपानी पनि बन्द छ । पछिल्लो एक महिनायता सो नाका बन्द रहेको छ । भदौ १२ गतेदेखि तातोपानी नाका पूर्णरूपमा बन्द गरिएको हो । नाका कहिले खोल्ने भन्ने अत्तोपत्तो छैन । चाडबाडको मुखमा सबै नाका ठप्प अवस्थामा छन् । अझै पनि तातोपानी नाकामा नेपालतर्फ डेढ सयभन्दा बढी खाली कन्टेनरहरू लाइनमा छन् । ती कहिले सुचारु हुन्छन् ? भन्न सकिने अवस्था छैन । नाका ठप्प भएपछि नेपालको राजस्व एवं व्यापारमा अर्बौं रुपियाँ घाटा लागेको छ । यस अवस्थामा निकटमै आउन लागेको नेपालीको मुख्य चाड दशैँ र तिहारमा महँगीले शिखर चुम्ने अवस्था छ । चाडपर्वकै बेला नेपाल र चीनबीचका प्रमुख तीनवटै नाकासँगको पहुँच अवरुद्ध भएपछि यसको प्रभाव बजारमा पर्ने निश्चित छ ।
नेपाली बजारमा लत्ताकपडादेखि विभिन्न खाद्य सामग्रीहरू विगतदेखि नै चीनबाट आयात गरिँदै आएको छ । झन् दशैँजस्तो चाडपर्वका बेला चीनबाट पाँच महिनाअघिदेखि नै ठूलो परिमाणमा सामानहरू ल्याइने गरेको छ । तर चीनसँगका प्रमुख नाका पटक–पटक अवरुद्ध हुँदै महिनौँदेखि मालसामान बाटोमै अलपत्र अवस्थामा छन् । चीन र नेपालको सबैभन्दा पुरानो व्यापारिक नाका तातोपानीतर्फको बाटो पटक–पटक अवरुद्ध हुँदै आएको थियो । हाल पनि चीनले पहिरोको जोखिम बढेको भन्दै यो नाका बन्द गरेको छ । यसले व्यापारीलाई मार परेको छ । उपभोक्ता महँगीले आजित भएका छन् । यस्तो अवस्थामा सरकारले नाका खोल्न तत्काल कूटनीतिक पहल गर्नुपर्छ । चीनले पनि नाका खोलेर नेपाली जनतालाई राहत दिन कुनै व्यवधान गर्नुहुँदैन ।











प्रतिक्रिया