नेपालका लागि वर्षा बाधक हुने संभावना


काठमाडौं, (नेस) ।

जापानको नागोयामा जारी २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । यो खेलमा जित हासिल गरेमा नेपालले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । तर, यो खेलमा नेपालका लागि वर्षा बाधक हुने संभावना रहेको छ ।
यसअघि समूह चरणमा पनि आयोजक जापानसँगको खेल वर्षाको कारण पूरा भएको थिएन । जसमा, नेपालले १५ ओभरमा १ सय ४९ रन बनाएको थियो । सोही समयमा वर्षा भएपछि खेल सुचारु भएन र खेल रद्द गरिएको थियो ।

आज पनि जापानमा वर्षाको उच्च सम्भावना रहेको जनाएको छ । वर्षाका कारण खेल हुन नसके टी २० अन्तर्राष्ट्रियमा नेपालभन्दा उच्च वरीयतामा रहेको श्रीलंका सेमिफाइनलमा पुग्नेछ । श्रीलंका नवौं स्थानमा छ भने नेपाल १४ औं स्थानमा रहेको छ ।

जापानको मौसम विज्ञको अनुसार खेल हुने शहर निशिनमा दिनभर वर्षा हुने पूर्वानुमान छ । खेल हुने भनिएको अधिकांश समय ८० देखि ९० प्रतिशत वर्षाको सम्भावना छ । यसले नेपाल र श्रीलंकाबीचको खेल नै बिथोलिने संभावना छ ।

यसअघि सोमबारलाई तय भएका दुवै क्वाटरफाइनल खेल पनि वर्षाले रद्द भए । भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङबीच हुने तय रहेको क्वाटरफाइनल वर्षाका कारण रद्द भएका थियो । भारत र पाकिस्तान टी २० अन्तर्राष्ट्रियको वरीयतामा उच्च स्थानमा रहेकाले सेमिफाइनलमा प्रवेश गरे ।

नेपालले हालसम्म एसियन गेम्सको पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलभन्दा अगाडिको यात्रा तय गरेको छैन । गत संस्करणको एसियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमै पराजित भएको थियो ।