रोशी खोलाले बगाएको बीपी राजमार्गमा डाइभर्सन निर्माण सुरु


काठमाडौँ ।

अविरल वर्षापछि रोशी खोलाले बगाएको बीपी राजमार्गका विभिन्न स्थानमा अस्थायी डाइभर्सन पुनर्निर्माण सुरु गरिएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को घुमाउने तथा रोशी–११ र १२ का तीन स्थानमा रहेका डाइभर्सन रोशी खोलाले बगाएको थियो।

यातायात सञ्चालन सहज बनाउने उद्देश्यले सडक डिभिजन कार्यालयले तत्काल डाइभर्सन निर्माणको काम अघि बढाएको जनाएको छ।

त्यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो पन्छाउने काम भइरहेको प्रमुख योगेशले जानकारी दिए।

अविरल वर्षाका कारण नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म बीपी राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।