म्याद गुज्रेका र किरा परेका सामग्रीबाट गुँदपाक–पुष्टकारी उत्पादन


काठमाडौं ।

चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा अखाद्य तथा म्याद गुज्रेका सामग्री प्रयोग गरी मिठाईलगायत खाद्य पदार्थ उत्पादन तथा बिक्री भइरहेको पाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनका क्रममा चन्द्रागिरि–१५ ढुंगेअड्डास्थित दुई मिठाई उद्योगमा म्याद नाघेका चिउरा, चकलेट, बिस्कुट, किरा परेको चना, चनाको पिठो, बदामलगायत सामग्री प्रयोग गरी गुँदपाक र पुष्टकारी बनाइएको भेटिएको हो।

‘श्री कृष्ण पुष्टकारी तथा गुँदपाक भण्डार’बाट मात्रै ठूलो परिमाणमा म्याद गुज्रेका तथा अखाद्य कच्चापदार्थ बरामद गरिएको विभागले जनाएको छ। ती सामग्रीबाट तयार करिब ६ सय ३५ किलो गुँदपाक तथा पुष्टकारीसमेत जफत गरी नष्ट गरिएको र उद्योग सिलबन्दी गरिएको छ।

त्यस्तै, ‘बज्रबाराही भण्डार’मा पनि लेभलमा उल्लेख नभएका शंकास्पद कच्चापदार्थ प्रयोग गरी खाद्य पदार्थ उत्पादन भइरहेको भेटिएपछि करिब ३ सय ५० किलो तयारी खाद्य पदार्थ नष्ट गरी उद्योग सिल गरिएको विभागले जनाएको छ।

स्वयम्भूस्थित एक पसलमा म्याद नाघेका सुजी, ब्रेडक्रम्ब, थाइम र राजमा बिक्रीका लागि राखिएको तथा म्याद गुज्रेका खाद्य पदार्थलाई पुनः प्याकेजिङ गरी बिक्री गर्ने गरेको समेत भेटिएको छ। विभागले त्यस्ता सामग्री नष्ट गर्दै आवश्यक निर्देशन दिएको छ।

यसैबीच, बजारबाट संकलित ‘साई कृपा गोल्ड चिया’को नमुना परीक्षण गर्दा दूषित प्रमाणित भएपछि सम्बन्धित ब्याचका उत्पादन बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको छ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार अखाद्य सामग्री प्रयोग गर्ने उद्योगविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कानुनी कारबाही अघि बढाइनेछ। चन्द्रागिरिका उद्योगविरुद्ध प्रयोगशाला परीक्षणको रिपोर्टपछि जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको विभागले जनाएको छ।